दोश्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी, तेश्रो एकदिवसीय खेल शुक्रबार

थानकोट ।
दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई पराजित गरेको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको हो ।
यूएईले दिएकाे एक सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायाे । नेपालका लागि गुलशन झा र आरिफ शेखले साताैँ विकेटका लागि ६२ रनकाे साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै कुशल भुर्तेलले ३५ रन बनाए । बलिङतर्फ यूएईका राेहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।
याे जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा एक–एककाे बराबरी गरेकाे छ । यसअघि भएकाे पहिलाे खेलमा यूएई ८४ रनले विजयी भएकाे थियाे । तेस्राे तथा निर्णायक खेल आउँदाे शुक्रबार हुनेछ ।