चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी योजना स्वीकृत, दक्षिण एसियाकै नमुना एकीकृत खानेपानी आयोजना बन्ने
थानकोट ।
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा चन्द्रागिरि नगरपालिकामा बृहत खानेपानी आयोजना निर्माण हुने भएको छ ।
विस्तृत आयोजना प्रतिवेदन तयार भएको २ वर्षभित्र सम्पन्न हुने गरी चन्द्रागिरि नगरपालिका वडा नं. १२ र १४ गरी दुई वटा वडालाई लक्षित गरी सो खानेपानी आयोजना निर्माण स्वीकृत भएको हो ।
बुधबार चन्द्रागिरि नगरमा सहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाले आयोजना गरेको परिचय तथा कार्यान्वयन प्रकृया कार्यक्रममा दिइएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिकाको अनुरोधमा नेपाल सरकार खानेपानी मन्त्रालयको स्वीकृतिमा एशियाली विकास बैंकले करिब १ अर्ब रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।
हाललाई चन्द्रागिरि नगरपालिका खानेपानी तथा सरसफाई आयोजना नाम दिएको सो आयोजना मुलुकका ७५३ स्थानीय तहमा कार्यान्वयनमा रहेका २० मध्येको १ आयोजना भएको बताइएको छ भने काठमाण्डाै उपत्यकामा सञ्चालन हुने यो पहिलो र एकमात्र आयोजना हो ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ र १४ गरी दुई वटा वडाका इलाकामा लक्षित गरी आयोजना स्वीकृत भएको भएपनि यसले चन्द्रागिरि ११, १२, १३ र १४ का क्षेत्रलाई समेत समेट्ने गरी सर्वेक्षण लगायतका कार्य सुरू हुने नगरप्रमुख गिरीले जानकारी दिनुभयो । साथै, चन्द्रागिरि १५ मा समेत यस आयोजनाले क्षेत्र विस्तार हुनेछ। आयोजना निर्माणका लागि एक महिनाभित्र उपभोक्ता समिति गठन, निर्माण स्थल चयन तथा आयोजना सञ्चालन हुनुपर्ने स्थल चयनका लागि समय दिइएको बताइएको छ ।
चन्द्रागिरि नगरमा जापान सरकारको सहयोगमा निर्माणाधीन राष्ट्रिय गाैरवको नागढुङ्गा सुरूङ आयोजना, जर्मन सरकारको सहयोगमा निर्माणको चरणमा रहेको प्रसुति अस्पतालका अतिरिक्त निकट भविष्यमा नै एशियाली विकास बैंकको सहयोगमा बृहत खानेपानी आयोजना निर्माण सुरू हुन पाउनु समग्र चन्द्रागिरि नगरबासीहरूकै गाैरवको क्षण भएको बताउनु हुँदै नगर प्रमुख गिरीले खानेपानी परियोजना सफल बनाउन सबै नगरबासीहरू एकजुट हुनुपर्ने धारणा राख्नुभयो । नगरप्रमुख गिरीले यो आयोजना सफल भइसक्दा नगरका सबै क्षेत्रमा खानेपानीको अभाव निराकरण हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो । स्थानीय पर्यावरण अनुकुल खानेपानी आयोजना निर्माणमा नगरपालिकाले भरमग्दुर जोड दिने बताउनुहुँदै नगरप्रमुख गिरीले नगर क्षेत्रमा पानी पुनर्भरण कार्यलाई तीव्रताका साथ अघि बढाइने समेत बताउनुभयो । नगरप्रमुख गिरीले बृहत खानेपानी आयोजनासँगसँगै ढल निकाश योजना पनि पेश गरिएको मा सो भने अस्वीकृत भएको जनाउनुभयो ।
चन्द्रागिरि नगरपालिका खानेपानी तथा सरसफाई आयोजनाको परिचय तथा कार्यान्वयन प्रकृया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै नगर उपप्रमुख बसन्ती श्रेष्ठले नगरका विभिन्न क्षेत्रमा खेर गइरहेका मुलका पानीहरूको संरक्षण गरि खानेपानी वितरण गर्न सके तत्कालका लागि खानेपानीको अभाव कम हुनसक्ने बनाउनु भयो । सो क्रममा उपप्रमुख श्रेष्ठले नगरमा सञ्चालनमा रहेका खानेपानी समितिहरू एकीकृत गर्न माग भइरहेको समेत बताउनुभयो ।
चन्द्रागिरि नगरका प्रवक्ता एवं चन्द्रागिरि वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले खानेपानी श्रोतका रूपमा लिइँदै आइएको डिपबोरिङ्ग दीगो समाधान नभएको बताउनु हुँदै यसका विकल्पहरूका बारेमा समेत ध्यान राख्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै चन्द्रागिरि नगरपालिका १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले नगर क्षेत्रमा विद्यमान रहेका खानेपानी समितिहरूको एकीकरण गरी नगर खानेपानी बोर्ड स्थापना गर्नुपर्नेमा जोड दिँदै नगरमा कार्यान्वयनको चरणमा रहेको खानेपानी आयोजनाले पानी पुनर्भरणका बारेमा कस्तो योजना बनाएको छ भन्ने जिज्ञासा राख्नुभएको थियो ।
त्यस्तै, चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाई महर्जनले चन्द्रागिरि नगरपालिका खानेपानी तथा सरसफाई आयोजना कुनैपनि बहानामा फिर्ता पठाउन नहुने धारणा राख्नुभयो ।
चन्द्रागिरि १३ का वडाध्यक्ष श्रीकृष्ण खत्रीले आयोजना निर्माण सुरू हुनअघि केही समय लिएर भएपनि विस्तृत रूपमा अध्ययन गरेर मात्र आयोजना कार्यान्वयन चरणमा प्रवेश गर्दा उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
चन्द्रागिरि १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले विद्यमान उपभोक्ता समितिहरूसँग समन्वय गरी निर्माणाधीन आयोजना सफल रूपमा सम्पन्न गर्न वडा कार्यालयले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, चन्द्रागिरि ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले विद्यमान खानेपानी अभाव परिपूर्तिका लागि वडाले सकेसम्म प्रयास गरिरहेकोमा यस खालका आयोजना सञ्चालन गर्न पाउनु निकै खुसीको कुरा रहेको धारणा राख्नुभयो ।
चन्द्रागिरि ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले यस खालको बृहत खानेपानी आयोजना जुनसुकै अवस्थामा पनि सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।
चन्द्रागिरि नगरपालिका खानेपानी तथा सरसफाई आयोजनाका सम्बन्धमा बोल्नुहूँदै परामर्शदाता समाजिक सुरक्षण विज्ञ समीर ढकालले सो खानेपानी तथा सरसफाई आयोजना पूर्ण रूपमा स्वचालित प्रविधिमा सञ्चालन हुने जानकारी दिनुभयो जसमा स्काडा प्रविधि जडान हुनेछ । जुन प्रविधिको प्रयोगले कम्प्युटर प्रणालीबाटै खानेपानी वितरण देखी अन्य व्यवस्थापन गरिनेछ ।