ग्लोबल आईएमई बैंक र बीओके मर्जरकाे अन्तिम सम्झौतामा हस्ताक्षर, देशकै ठूलो बैंक बन्ने

थानकोट ।
ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १:१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
नयाँ बैंकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुनेछन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।
दुई बैंकहरूको मर्जरपश्चात् कुल ३९६ शाखा कार्यालय, ३६८ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आईएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।
दुवै बैंकहरू एक आपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवं सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भइ ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरूले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याइ ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिबद्धता व्यक्त गरे ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए ।
ग्लोबल आईएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै उनले तदअनुरूप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।
मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको बताए ।
बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र सम्मृद्धिमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए ।
“मुलुकको आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ । त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आईएमई बिओकेले गर्नेछ,” उनले भने ।
मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे ।
साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरूले गाभ्ने/गाभिने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालकहरू, सेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे ।
संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठूलो बैंकले मात्र सक्ने बताए ।