मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपालमा

Thankot Times

थानकोट । 

कार्तिक ३० गते हुने एक मात्र अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको फुटबल टोली नेपाल आइपुगेको छ । पाकिस्तानी टोली आइतबार मध्यराति काठमाण्डाैमा उत्रिएको हो ।

मैत्रीपूर्ण खेल कार्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ ।

पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले तीन दिन अघिमात्रै २४ सदस्यीय टोली घोषणा गरिसकेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेपछि पाकिस्तानले ३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको रुपमा नेपालसँग खेल्न लागेको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा फर्कनुअघि मुख्य प्रशिक्षक शहजाद अनवरको प्रशिक्षणमा टोलीले विगत एक महिनाबाट निरन्तर प्रशिक्षण गरिरहेका छन् ।

टोलीको कप्तानी फरवार्ड हसन बसिर तथा मोहम्मद उमर हयात उपकप्तान रहेका छन् । पाकिस्तानी टोलीमा चार डेनमार्कका खेलाडी रहेका छन् । डिफेन्डर अब्दुल्लाह इकवल पाकिस्तानबाट खेल्ने पछिल्लो डेनिस नाम हुन् । टोलीमा साकिब हनिफ, युसुफ इजाज बट र अब्दुल बासित रहेका छन् ।

डिफेन्डरमा जैन (जुनियर), सोहेल खान, सैयद जुनैद शाह, अब्दुल्लाह शाह, मामुन मुसा, अब्दुल्लहा इकबाल, सरदार वली र हसिब खान छन् । मिडफिल्डमा उमैर अली, जैन उल अबिदिन, अब्दुल कादिर खान, आलमगिर गाजी, अदनान याकूब र अदनान सइद छन् । मोहम्मद अफजल, मोहम्मद वाहिद, मोहम्मद वलिद खान र शायक दोस्त फरवार्ड हुन् ।

टोली तीन वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किने भएको छ । पाकिस्तानले पछिल्लोपटक सन् २०१९ जुनमा फिफा विश्वकप कतार २०२२ को छनोटमा कम्वोडियासँग खेल्दा २–१ ले पराजित भएको थियो ।

पाकिस्तानविरुद्धको खेलका लागि नेपालले पनि मिडफिल्डर रोहित चन्दको कप्तानीमा अन्तिम टोली छनोट गरिसकेको छ । नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा हुने छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *