नेपालले पहिलोपटक क्रिकेट विश्वकप आयोजना गर्ने

Thankot Times

थानकोट ।

नेपालले पहिलोपटक विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ ।

नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ ।

जसमा नेपाल र बंगलादेश मिलेर यू-१९ महिला टि-२० विश्वकप आयोजना गर्ने भएका हुन् । २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु-१९ महिला टि-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

नेपालले पहिलो पटक कुनैपनि विश्वकप आयोजना गर्नेछ ।

यसअघि नेपालले कुनैपनि विश्वकप आयोजना गरेको छैन् । ‘यो खुशीको खबर हो । यो नेपाली क्रिकेटकै एक ठूलो उपलब्धी पनि हो । हामीले निरन्तर प्रयास गरेका थियौं । विश्वकप आयोजना गर्न हामीले पाँच वटा मैदानको नाम दिएका छौं । जसमा दुईवटा मैदानमा हुनेछ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले भने ।

गत जेठमा आइसिसी यू-१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो । २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू-१९ महिला टि-२० विश्वकप आयोजना हुन लागेको छ । नेपालले पुरुषतर्फ सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न सकेको छैन् ।

नेपालले हाल भने २०२३ मा भारतमा हुने एकदिवसिय पुरुष विश्वकप छनोटको लागि विश्वकप लिग २ खेलेको छ । २०२४ को टि-२० विश्वकपको लागि एसिया क्षेत्र छनोट खेल्नुपर्ने हुन्छ । २०२४ देखि विश्वकपमा २० टोली हुनेछन् । जसमा १२ टोली सोझै छनोट भई सकेका छन् । २०२७ को एकदिवसीय विश्वकपमा १४ टोली सहभागी हुनेछन् ।

नेपालले अन्तिम पटक घरेलु मैदानमा आइसिसीको ठूलो प्रतियोगिता रुपमा सन् २०१० मा डिभिजन फाइभ आयोजना गरेको थियो । नेपालले फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै पहिलो आइसिसी उपाधि जितेको थियो ।

पछिल्लो पटक टियु मैदानमा ठूलो प्रतियोगिताको रुपमा एसिसी टि-२० कप २०१३ आयोजना गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको छ । २०२० मा आइसिसी विश्वकप लिग २ अन्तर्गत नै नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो ।

टियु मैदानमा त्रिकोणात्मक र दुई देशबीचको सिरिज भने लगातार आयोजना गर्दै आएको छैन् । टियु क्रिकेट मैदानमा सोमबारदेखि नेपाल र युएईबीचको तीन ओडिआई खेलको सिरिज पनि सुरु हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *