नेपाली क्रिकेटको कप्तानमा रोहित पौडेल चयन

थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान चयन गरेको छ । क्यानको शुक्रबार बसेको बैठकले रोहितलाई कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।
सन्दीप लामिछाने बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा गएपछि शुक्रबार रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान नियुक्त गरिएको क्यानले जनाएको छ । लामिछाने भदाै २३ गते नै बर्खास्तीमा परिसकेका छन् ।
राष्ट्रिय टीममा ज्ञानेन्द्र मल्ललगायतका सिनियर खेलाडीलाई उछिन्दै उनले टीमको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
२० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना अघि केन्या भ्रमणमा कप्तानी गरेका थिए । केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए । रोहितले नेपाली यू१९ टोलीको कप्तानी पनि सम्हालि सकेका छन् ।
रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन् । त्यस्तै रोहितले २१ टि२० आई र ४० लिष्ट ए खेल खेलेका छन् । सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले त्यसपछि लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।
गत कार्तिकमा नेपालले रोहित पौडेललाई उपकप्तानमा नियुक्त गरेको थियो ।
रोहितले सोमबारदेखि घरेलु मैदान टियुमा युएईसँग हुने तीन ओडिआई खेलबाट कप्तानी सुरुवात गर्नेछन् । रोहित युवा खेलाडीका भरपर्दा ब्याटर हुन् । उनी मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
गत मार्चमा रोहितले टियुमा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । जुन कुनैपनि एक ब्याटरले एक अन्तर्राष्ट्रिय इनिङमा खेलेको सर्वाधिक उच्च प्रदर्शन हो ।