साफ यू-१५ महिला च्याम्पियनसिप:नेपाल र बंगलादेश भिड्दै, नेपाल च्याम्पियन बन्न बराबरी पर्याप्त हुने

Thankot Times

थानकोट । 

साफ यू-१५ महिला च्याम्पियनसिप फुटबल अन्तरगत आज नेपाल र बंगलादेशबीच प्रतियोगिताको अन्तिम खेल हुँदैछ । यो खेल विजेताले उपाधी उचाल्नेछ । गोल अन्तर राम्रो रहेका कारण उपाधी उचाल्नका लागि नेपालले खेल बराबरी गरेपनि पर्याप्त हुनेछ ।

नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ । यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।

बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-० र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहँदै बाहिरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *