विरासत जोगाउने रणनीतिमा कृष्णगोपाल, माओवादीकी कल्पनालाई कांग्रेसको भर
थानकोट ।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच टक्कर हुने देखिएको छ ।
यो क्षेत्रमा एमालेको तर्फबाट कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छन् । श्रेष्ठ यसअघिको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए ।
काठमाडौं-९ मा १२ दलगत उम्मेदवार र १० स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी छ । अहिले श्रेष्ठ, धमलासहित साझा पार्टी नेपालका मिलन पाण्डे, राप्रपाका देवेन्द्र प्रधान, जसपाका शर्मिला सुवाल(डंगोल)लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।
२०७४ सालको निर्वाचनमा एमाले नेता श्रेष्ठ २२ हजार ८ सय ५२ मतसहित विजयी भएका थिए । नेपाली कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मतसहित दोस्रो धेरै मत ल्याउने नेता थिए । तेस्रो विवेकशील साझा पार्टीका मिलन पाण्डे भएका थिए।
पाण्डेले ४ हजार ९४६ मत ल्याएका थिए । यस्तै, तत्कालीन संघीय समाजवादी फोरमकी शर्मिला डंगोलले ४०२ मत ल्याएकी थिइन् ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका कृष्णगोपाल विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका व्यक्ति हुन् । ०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा सक्रिय सहभागी बनेका उनी ०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव भएका थिए ।
०४२ सालमा भक्तपुर र ०४६ सालमा ललितपुरको पार्टी सचिव भएका उनी ०४७ सालमा अखिल नेपाल किसान संघको सचिव थिए । ०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव बनेर काम गरेका उनी ०५४ सालदेखि एमालेको केन्द्रीय सदस्य बने । ०६१ सालमा उनी स्थानीय विकास राज्यमन्त्री भएका थिए । ०७४ मा बनेको केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका उनलाई आवश्यकता अनुसार अन्य मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।
२०४८ सालको आम निर्वाचनमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ को उपनिर्वाचनमा निर्वाचित श्रेष्ठ ०५१ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भए । यसरी श्रेष्ठ ०४८, ०५१ मा काठमाडौं ७ बाट , ०७४ मा काठमाडौं ९ बाट जितेका जनप्रतिनिधि हुन् । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा भने उनी पराजित भए । यी दुवै निर्वाचनमा उनी नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितसँग पराजति भएका थिए ।
धादिङको ज्यामरूङमा जन्मिएकी कल्पना धमला पनि विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय छन् । ०५६ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्यका साथै छात्रा विभाग प्रमुख बनेकी धमलालाई तत्कालीन नेकपा (माओवादी)ले ०५७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिव बनाएको थियो । माओवादी युद्धको समयमा तत्कालीन् जनमुक्ति सेना सहकमिसार बनेर उनले काम गरेकी थिइन ।
पार्टीको आन्तरिक राजनीतिमा राम्रो प्रगति गर्ने नेतृका रुपमा कार्यकर्ताले उनलाई चिन्ने गरेका छन् । उनी अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य, पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख छन् । हाल काठमाडौंको चन्द्रागिरि–१५ तीनथानामा स्थायी बसोबास गर्दै आएकी उनी काठमाडौंका लागि नयाँ अनुहार हुन् । उनले ०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा साविक धादिङ–२ बाट चुनाव जितेकी थिइन्। धमला २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा विज्ञान तथा प्रविधि मन्त्री बनेकी थिइन् । २०७० सालको चुनावमा भने पराजित भएकी थिइन्।
यो क्षेत्रमा अर्को चर्चामा रहेका उम्मेदवार हुन मिलन पाण्डे । पेशाले सिभिल इन्जिनियर पाण्डे ०७० सालमा विवेकशील नेपालीको संस्थापक सदस्यको रूपमा वैकल्पिक राजनीतिमा प्रवेश गरेका थिएँ । उज्वल थापापछि दोस्रो अध्यक्षका रूपमा ०७६ सालमा उनी विवेकशील नेपालीको अध्यक्ष निर्वाचित भए । त्यसपछि ०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक भए । सार्वजनिक शिक्षा सुधारमा विशेष रुचीका साथ पाण्डेले काम गरेका छन् । ३३ वर्षीय पाण्डे २०७४ सालमा यो क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार बने पनि मतका आधारमा तेस्रो बने ।
यस्तो छ काठमाडौं-९ को अंकगणित
काठमाडौं क्षेत्र नम्बर-९ मा ७२ हजार १७३ मतदाता छन् । ०७४ सालको निर्वाचनमा ६७ हजार ६५१ मतदाता रहेकोमा यस पटक ४ हजार ५२२ मतदाता थपिएको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ । थपिएका मतदातामध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् ।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर १२, १४, २१ र २२ पर्छन् । त्यस्तै, चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ नम्बर वडा पर्छन् । नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा पर्छन् । टेकु, कलंकी, ज्यावहाल, टेवहाललगायतका बढी जनघनत्व भएका क्षेत्र यही निर्वाचन क्षेत्रमा छन् ।
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत परिणाम हेर्दा काठमाडौं महानगरको १२ र १४, नागार्जुन नगरपालिकाको ६, ९, १० चन्द्रागिरि नगरपालिकाको १, १३ र १५ मा कांग्रेस विजयी भएको थियो । यस्तै, काठमाडौंको २१, २२, नागार्जुनको ७, ८ चन्द्रागिरिको १२ मा एमाले विजयी भएको थियो ।
स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षका उम्मेदवारले पाएको मतमा कांग्रेस अगाडि छ । कांग्रेस एक्लैको १९ हजार ९१६ मत ल्याएको छ । यस्तै, एमालेको १९ हजार २८२, माओवादी केन्द्रको ६९५, नेकपा एकीकृत समाजवादीको ४६५ मत छ । यसरी गणना गर्दा सत्ता गठबन्धनको २१ हजार ७६ मत छ भने एमालेको १९ हजार २८२ मत छ ।
स्थानीय तह निर्वाचनको परिणाम अनुसार माओवादीको मत कम छ । तर गठबन्धनले माओवादी उम्मेदवार नै यो क्षेत्रमा उठाएको छ । माओवादी नेतृले कांग्रेस र नेकपा एकीकृत समाजवादीको मत कसरी तान्ने हो त्यो हेर्न बाँकी छ ।
विगतदेखि नै निर्वाचन जित्दै आएकाले एमाले नेता श्रेष्ठको उपस्थति पनि कमजोर छैन । जे भए पनि यो क्षेत्रमा सबैको उम्मेदवारको चुनावी अभियान र सुझबुझसहितका मतदाताको मत कसलाई पर्ने भन्ने हेर्न परिणाम नै कुर्नुपर्नेछ ।
अन्नपूर्णपोष्टबाट