शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यका प्रवेशको एक प्रमुख पश्चिमी नाका (द्वार) शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवका रूपमा वर्षैनी सिद्धिगणेश र महालक्ष्मीको जात्रा मनाइन्छ । यस जात्रालाई स्थानीयबासिन्दा सिन्दूर जात्राको नामले पनि चिनाउँछन् । कसैले यसलाई थानकोटको जात्रा पनि भन्ने गरेको पाइन्छ ।
उपत्यकाका अन्य प्राचीन बस्तीहरू जस्तै थानकोट पनि निकै पुरानो ऐतिहासिक स्थल मानिन्छ । ऐतिहासिक अभिलेखअनुसार आजको थानकोटलाई ऐतिहासिक शोणितपुर मानिन्थ्यो । प्रचीनकालमा सुप्रभानगरी नामाकरण भएको यो सुन्दरनगर द्वापरयुगमा वाणसुरले सुनैसुनको पुर (नगर-सहर) बनाई दिएकाले सुनितपुर हुँदै शोणितपुर नाम रहन गएको भनिन्थ्यो । वाणासुरका समयमा शोणितपुर भएको र अझपछि प्रशासनिक इकाईका साथै सामरिक दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेको स्थान कोतघर समेत यसै नगरीमा रहेकाले यसलाई चल्तीको भाषामा स्थानकोटबाट थानकोट भनिन थालिएको पाइन्छ ।
शोणितपुर (थानकोट) मा मानवबस्तीको क्रमसँगै सुदृढ र समृद्ध समाजको विकास भएर सामाजिक जनजीवन सु-संस्कृतिले भरिपूर्ण भएको पाइन्छ ।

यसैको ज्वलन्त उहारण थानकोटमा परापूर्वकालदेखि मानी आएको ऐतिहासिक महत्वको विभिन्न सांस्कृतिक पर्व तथा जात्राहरू मुख्य रूपमा छन् । नेवार समुदायको विशेष बाहुल्यता रहेको यहाँ (शोणितपुर अर्थात थानकोट) को समाजमा नेवार सम्प्रदायको विभिन्न जातजाति बीच आर्थिक, सामाजिक, धार्मिक एवम् संस्कृति र सांस्कृतिक सहिष्णुता कायम रहेको पाइन्छ ।

कुनैपनि जात्रा र पर्वहरू मनाउन सबै जातजातिहरूको सहभागितामा एकआपसमा आ-आफ्नो गुठी एवम् समुदायहरुको महत्वपूर्ण जिम्मेवारी सम्झी सहजै सम्पन्न गर्दै आएको पाइन्छ । यसैले आजसम्म पनि परम्परादेखि चल्दै आएको सांस्कृतिक महत्वका जात्रा तथा पर्वहरू निर्वाधरुपमा सुसम्पन्न हुँदै आएको छ । त्यसैले प्राचीनकालदेखि चल्दै आएको सांस्कृतिक जात्रा तथा पर्वहरूलाई जीवन्तरुप दिन र प्रस्तुत गर्न सफल हुँदै आएको छ । यसैको ज्वलन्त उदाहरण हो शोणितपुर (थानकोट) को सिन्दूरजात्रा ।

सिन्दूरजात्रा कार्तिक शुक्लचतुर्दशी (बैकुण्ठ चतुर्दशी) को दिनमा आरम्भ भई कार्तिक शुक्लपूर्णिमा (सकिमना पूर्णिमा) को भोलिपल्टसम्म गरि ३ दिनसम्म मनाउने गर्दछ । सिन्दूरजात्रा पूर्णिमाको भोलिपल्ट बिहान धुमधामले मनाउने गर्दछ ।

पहिलो दिन

प्रत्येक वर्ष कार्तिक शुक्लचतुर्दशी (बैकुण्ठचतुर्दशी) का दिनमा छ्वय्ला भ्वय्बाट जात्रा आरम्भ हुन्छ । यो दिनमा टोल छिमेकहरु मिलेर राँगो काटेर सबैको घरघरमा भोजको लागि मासु भित्राउने कार्य गरिन्छ । मुख्यरुपमा छ्वय्ला अर्थात पोलेको मासुुको परिकार राखेर परिवारमा हाँसिखुसि छ्वय्ला भ्वय् खाएर जात्राको शुरूवात भएको मानिन्छ । अनि त्यही दिन घरघरमा तःखाः पकाउने कार्य पनि गरिन्छ ।
सोही दिन राति स्थानीय ह्वँ गुठीबाट महालक्ष्मी मन्दिर प्राङ्गणमा होम गर्ने कार्य गर्दछ । सिन्दूरजात्राको क्रममा कार्तिक शुक्लचतुर्दशीका दिन महालक्ष्मीद्यः पिहाँ बिज्याकेगु÷पिकाय्गु गरेर मन्दिरमा विराजमान गराउँछन् । सोही दिन राति महालक्ष्मी मन्दिर प्राङ्गणमा तान्त्रिक विधिबाट विभिन्न देविदेवतालाई आह्वान गरी ह्वँ याय्गु अर्थात होम गर्ने गरिन्छ । सिन्दूरजात्रामा देविदेवताहरुलाई सहभागी हुन तान्त्रिक विधिद्वारा आव्हान गरिएको मानिन्छ । यहाँको ह्वँ गुठी अर्थात होम गुठीद्वारा आयोजना गरिने होममा आचाःजुबाट तान्त्रिक विधिबाट जुवाः (स्थानीय सरकारी पूजाआजाका लागि कोतघरबाट पूजाआजा गर्ने मुख्य व्यक्ति) थकाली बनाई पूजाआजा गराउँछन् ।
उक्त होममा परापूर्वकालमा एक-एक जोर माछा, सर्प, भ्यागुता, गँगटो र बोका सहितको पञ्चबली दिएर होम गर्ने प्रचलन रहेछ । हाल ती पञ्चबलिमा माछा, सर्प, भ्यागुता, गँगटोको तान्त्रिक विधिबाट प्रतीक प्रतिस्थापन गरी बलि दिने गर्दै आएको पाइन्छ । बोका बलि भने यथावत् नै दिँदै आएको पाइन्छ ।

दोस्रो दिन

छ्वय्ला भ्वय्को भोलिपल्ट अर्थात कार्तिक शुक्ल पूर्णिमाका दिन बिहानैदेखि घरघरबाट देवीदेवताहरूको पूजाआजा गर्ने गर्दछ । पूर्णिमाको दिन बिहान यहाँका गोपाली (अनन्त भैरवनाथ रहेको) गुठीद्वारा लण्ठ टोलस्थित क्षेत्रपालको पूजाआजा गरिन्छ । यसको अर्थ होम गरी देवीदेवतालाई आह्वान गरिसकेपछि जात्रा हुने क्षेत्रमा रक्षा गर्न क्षेत्रपाललाई राङ्गो बली दिई पूजा गर्ने प्रचलन रहेको छ ।
क्षेत्रपाल पूजामा सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै जात्रा हुने ईलाका (क्षेत्र) भित्र कुनै दुष्ट प्रवृत्तिले अभिप्रेरित भूतप्रेत-प्रेतात्मा आदिले प्रवेश गर्न नसकुन् भनी स्थानीय देसार गुठीको तर्फबाट भात छर्न जाने परम्परा पनि रहिआएको पाइन्छ । यस्तै गोपाली गुठीबाट च्वकि बजी अर्थात च्यूराको कनिका छर्न जाने परम्परा रहेको छ । तान्त्रिक आधारमा भात र च्वकि बजिलाई जुठोको रूपमा लिने गर्दछ । भात र च्वकि बजिले घेरेको सीमाभित्र कुनै दुष्ट छिर्न नसक्ने विश्वास रहेको छ ।

यहाँको क्षेत्रपाल पूजाको लागि गोपाली र देसारको गुठीबाट पूजा तयारी ल्याए तापनि खड्गी गुठीका थकालीले पनि पूजाआजा गर्ने गर्दछ र अनि राङ्गो बली चढाइन्छ । यो बली दिने राँगोलाई खुटृा टाउको जोडिने गरी बाँधेर उत्तरतर्फ टाउको पर्ने बायाँतिरबाट मोडिएर पूर्व मुख पर्ने गरि ढाल्छ । अनि पूजाआजा सम्पन्न भएपछि तालुमा चुपि रोपेर क्षेत्रपाललाई बलि चढाउने गर्दछन् ।

यसरी बलि दिएको राँगो कराएमा अशुभ मानिन्छ । त्यसैले कराउन नसक्ने गरी थुतुनोमा डोरीले कसिलो गरि बाँधिन्छ । पहिले पहिले यो क्षेत्रपालको बलिपूजा बिहान उज्यालो हुँदा सम्पन्न भइसक्थ्यो । आजभोली लगभग बिहान ७-८ बजेतिर मात्र पूजा सुरु हुने गर्दछ ।
यही पूर्णिमाको जुनेली रात अनि शीतलतामा सर्वप्रथम आदिनारायणको धातुमूर्ति खटमा राखी बाजागाजाका साथ जात्रा गर्दै गाउँ परिक्रमा गराइन्छ । खटलाई नचाउँदै रमाइलो गरिन्छ । सो खटलाई आदिनारायण मन्दिर प्राङ्गणबाट स्थानीय च्वछेँ, सिकःछेँ, कोतघर, चाफः नासः, बाकुननी, ताहाफः, लायब टोल हुँदै परिक्रममा गरी पुनः ताहाफल, बाकुननी, लँथ टोल परिक्रमा गराई आदिनारायण मन्दिर प्राङ्गण पुर्याउँछ ।

त्यसरी देवतालाई प्रत्येक भक्तजनको घर-घरमा दर्शनार्थ पुर्याइने परम्परा रहि आएको छ । भगवान् आदिनारायण विभिन्न टोलको घरआँगनमा ठूलो उत्सवकासाथ परिक्रमा गराउने प्रचलन छ । यही खुशीयालीमा भक्तजनहरूले पनि प्रत्येक घरमा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरी हार्दिक स्वागत र सम्मान दर्शाउने गर्दछन् । पुनः भगवान आदिनारायणको मूर्तिलाई खटबाट झिकेर पुनः मन्दिरमा विराजमान गराउँछ । त्यसरी आदिनारायणको जात्रा सम्पन्न हुन्छ ।

साथै शोणितपुर (थानकोट) स्थित प्रसिद्ध आराध्यदेव भगवान आदिनारायणको आश्विन शुक्लपूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म श्रद्धालु भक्तजनहरूबाट विशेष पूजाआजा गरी मेला भर्ने गर्दछन् । त्यसपछि कार्तिक शुक्लपूर्णिमाका दिन साँझ आदिनारायण भगवानको खटजात्रा गर्ने प्रचलन रहेको छ । आदिनारायण भगवानको जात्रा सम्पन्न भएपछि मात्र सिद्धिगणेशको मूर्ति इमाखेलस्थित आफ्नो स्थान (गणेशस्थान) मा कुहाँ बिज्याकेगु गरिन्छ ।
गणेशस्थानमा पुर्याइएका सिद्धिगणेशको विधिवत पूजाआजा गर्ने प्रचलन रहेको छ । उक्त पूजाआजा सम्पन्न भएपछि पुनः सिद्धिगणेशको मूर्तिलाई थहाँ बिज्याकेगु गरेर महालक्ष्मी मन्दिर प्राङ्गणमा राखिएको खटमा विराजमान गराइन्छ । महालक्ष्मीको मूर्ति पनि खटमा विरामान गराइन्छ ।

त्यसपछि महाननी टोलस्थित देसार परिवारको घरमा राखिएका भैरःद्यः (अनन्त भैरवनाथको प्रतीक जाँड राखिएका तामाको घ्याम्पोे) भैरवको प्रतिमूर्ति मुकुण्डो सिङ्गारपटार गरी कुहाँ बिज्याकेगु भनेर गाउँको पुछारमा रहेको मसानघाटस्थित भैरवस्थानमा लग्ने क्रम शुरु हुन्छ । महाननी टोलबाट ल्याएर नासल टोलमा पहिले बिसाइन्छ । त्यहाँ देसार गुठीबाट हाँस बलि दिएर पूजाआजा सकेपछि अनन्त भैरवनाथको स्थान (गाउँको पुच्छारस्थित मसानघाटमा) मा पुर्याउँछन् । त्यहाँ विधिवत पूजाआजा सकेपछि जुगी (कुसुले-कपाली) थकाली भएर भोज खाने परम्परा छ । जातिय विभेदको उदाहरण स्वरुप यो भोजलाई लिन सकिन्छ ।
त्यहाँ पूजाआजा सकेपछि अनन्त भैरवनाथको प्रतिमूर्ति सहितको घ्याम्पो जात्रा गर्दै थहाँ बिज्याकेगु भनेर गाउँको किनारास्थित चाफल टोलमा अवस्थित भैरवको मण्डपमा विराजमान गराइन्छ । यसबेलासम्ममा बिहानको उज्यालोले धरति जगमगाइ सकेको हुन्छ । त्यसपछि सिद्धिगणेश र महालक्ष्मीको सिँदूर जात्राको लागि तयारी सुरु हुन्छ ।

तेस्रो दिन
प्रतिपदाको दिन बिहान खटमा विराजमान गराइएका सिद्धिगणेश र महालक्ष्मीको सिन्दूरजात्रा शुरू हुन्छ । स्थानीय सरकारी गूठीका जुवाः (पूजारी) को नेतृत्वमा पूजारी टोली, स्थानीय प्रशासनिक निकायका पदाधिकारीहरू एंवम् समाजमा प्रतिष्ठित गन्यमान्य व्यक्तिहरूद्वारा खटमा बिराजमान सिद्धिगणेश र महालक्ष्मीलाई सिँदूरले अभिषेक गरि सिन्दूरजात्राको आरम्भ गराइन्छ । त्यसरी सिन्दूरले अभिषेक गरिने भएकाले यस जात्रालाई सिन्दूरजात्रा भनेका हुन् ।


केही समयको सिन्दूरजात्रा सकेपछि रथलाई विभिन्न टोलमा परिक्रमा गराइन्छ । रथलाई ताहाननी, लाय्ब, ताहाफल, बाकुननी, लँथ, बद्रीनाथ मन्दिर दायाँ, कोतघर, चाफलमा बिसाउँदै, रमाईलोका साथ जात्रा गर्दै टोलटोलमा परिक्रमा गराउँछन् ।
अन्तमा सोही दिन बेलुका चाफलटोलमा विराजमान गराईएका अनन्त भैरवनाथसँग त्वाय् चिँकेगु (मित लगाउने) कार्य गरिन्छ। । त्यसपछि रथलाई गाःछेँ टोलमा विसाउँछ । त्यहाँ पूजाआजा सकेपछि नासल टोलमा जात्रा गरेर रथ पुर्याउँछ र बिसाएपछि थानकोटको सिन्दूरजात्रा औपचारिक रुपमा सम्पन्न हुन्छ ।

यो जात्रामा सहभागी हुन छिमेकी, आफन्त, नाताकुटुम्ब उल्लेख्य सङ्ख्यामा आउने चलन छ । भेटघाट, भलाकुसारी र भोजभतेर आदिसँगै जात्राको उल्लासमय वातावरणमा सबै एकप्रकारले रमाइरहेका हुन्छन् । पाहुनापाछाको स्वागत सत्कार गर्नु र देवीदेवताको पूजाआराधना गर्ने यस अवसरमा स्थानीय बासिन्दाको प्रमुख दायित्व नै हो । यही दायित्व निर्वाह गर्न प्रत्येक घरपरिवारमा छाएको उत्साह र खुशियाली आगन्तुकका लागि आनन्दको संयोग हुन्छ ।


सोही जात्राको अवसरमा भाकल गर्ने श्रद्धालु भक्तजनहरूबाट सिद्धिगणेश र महालक्ष्मीको खटमा बोका, हाँस एवम् कुखुरा बलि चढाउने गर्दछन् । साथै स्थानीय सरकारी गूठीको तर्फबाट समेत कोतघर प्राङ्गणमा खट पुगेपछि बोका बलि दिई पूजाआजा गर्ने गरिन्छ ।
थानकोटमा मानववस्ती शुरू भएदेखि नै भैरव देवतालाई विधिपूर्वक पूजाआराधना गर्ने गरेको पाइन्छ । यही जात्राको सुअवसरमा स्थानीय गोपाली परिवारका दुईजना सुकन्याको ईही (बेल विवाह) गरिने प्रचलन पनि रहेको छ । यसमा सोही गुठीका थकाली र गूठीको पालो पर्ने परिवार मध्येका कन्याहरूलाई भैरद्यः (भैरव देवता) सँग ईही गर्ने गरिन्छ ।


गोपाली गुठीमा रहेको भैरवको मूर्तिलाई सिकःछेँ टोलस्थित भैरवस्थानमा लगेर पूजाआजा गरेपछि ईही गर्ने प्रचलन रहेको छ । यस जात्राको अवसरमा प्रत्येक वर्ष गोपाली गूठीका दुई सुकन्याहरूलाई ईही अर्थात् बेलविवाह गरिने परम्परा रहेकाले यसमा सम्मिलित हुने ती कन्याहरू अत्यन्त भाग्यशाली मानिन्छ ।
यही जात्राको सिलसिलमा श्रद्धालु भक्तजनहरूबाट भाकल स्वरुप बलि सहित पूजाआजा गर्दा सिद्धिगणेशलाई बलि चढाउने कार्य गदैनन् । बलि चढाउनै परेमा खटमा बलि दिन्छन् । यहाँस्थित सिद्धिगणेशले रगत खाँदैनन् भन्ने जनधारणा रही आएको छ । यहाँस्थित सिद्धिगणेशलाई किन बलि चढाउँदैनन् भन्ने एउटा रोचक प्रसंङ्ग छ ।

लेखकः भीमनारायण श्रेष्ठ

परापूर्वकालमा मानव र देवीदेवताहरू बीच वार्तालाप हुँदा भक्तजनहरूले सिद्धिगणेशको पूजाआराधना सकेर बलि चढाउने बेलामा “कुन बलि लिने ? दुई खुट्टे, चार खुट्टे अथवा आठ खुट्टे” भनी सोध्दा दुई खुट्टेको भन्दा चार खुट्टेको रगत बढी आउँछ भने आठ खुट्टेको झन बढि रगत आउँछ । बढी रगत पिउन पाउने आशाले सिद्धिगणेशले “आठ खुट्टेको बलि खान्छु” भनेछन् । त्यसै अनुसार भक्तजनहरूले स्वीकार गरेछन् ।
आठ खुट्टेको बलिबाट निक्कै रगत खान पाउने आशामा सिद्धिगणेश आँखा चिम्लेर मख्ख भएर बसेछन् । सोही मुताविक भक्तजनहरूले आठ खुट्टोको जीवलाई डोरीले बाँधेर हैसे र होस्तेको बलमा तानेर ल्याएछन् । आँखा चिम्म गरी बसेका सिद्धिगणेशलाई आठखुट्टे जीवको बलि चढाउँदा रगतको थोपा पनि नझरेको चाल पाएपछि आँखा उघारी हेर्दा त गँगटो पो बलि चढाउन ल्याएका रहेछन् । सिद्धिगणेश हिस्स परेछन् ।
त्यसैबेलादेखि सिद्धिगणेशबाट ठूलो आशामा त्यस्तो बलि लिन पुगेकोले खिन्न मन गरी “अब देखि कहिले पनि बलि नलिने” भनेका रहेछन् । त्यसैले आजसम्म पनि थानकोटमा सिद्धिगणेशको पूजाआजा गरी बलि चढाउँदा खटमा बलि दिने गर्दछन् ।

सबै तस्बिरः धर्मेन्द्र महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *