‘थानकोटे जात्रा’ को नालीबेली
थानकोट ।
सिन्दुर जात्रा थानकोटमा उल्लासमय वातावरणमा मनाइने प्राचिनतम जात्रा मध्येको एक हो ।
आराध्यदेवी महालक्ष्मीको भव्य मन्दिरको प्राङ्गणमा उल्लासका साथ सम्पन्न गरिने यस सिन्दुर जात्रामा मूलतः महालक्ष्मी र गणेशलाई छुट्टाछुटै खटमा राखेर नचाउने गरिन्छ ।
जात्रामा थानकोटबासी र तिनका पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहन्छ । जात्रा हेर्न र भोज खान आफन्तलाई निम्त्याउने प्रथा थानकोटबासीहरूको रूचीको विषय नै हो ।
कार्तिक मंसिरमा धानबाली भित्र्याइ सकेर वर्ष दिनको दुःख सुख, वर्षा जाडो, हिलो हुरी सबै बिर्सिएर थानकोटबासीहरू यस जात्रामा रमाउने गर्दछन् । नरमाउन पनि किन ! वर्ष दिनको मेहेनतको फल घर भित्र्याउनु चानचुने कुरो पनि त हैन् । त्यति बेला थानकोट सिङ्गै उल्लासमय वातावरणमा फक्रक्क फक्रेको हुन्छ ।
‘थानकोटे जात्रा’ नामले बहुप्रचलित यस सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा पनि भन्ने चलन छ । तर यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामुहिक जात्रा पनि हो । यो जात्रा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्षको चतुर्दशी अर्थात् बैकुण्ठ चतुर्दशीको दिनदेखि शुरू भएर मंसिर कृष्णपक्षको प्रतिपदाको दिनमा सम्पन्न हुन्छ ।
तीनदिनसम्म चल्ने यस जात्राको पहिलो दिनः
महालक्ष्मीको जात्रा गरिने धातुको मूर्ति गूठीको पालो पर्ने गुठीयारको घरबाट अपरान्हतिर ल्याएर मन्दिरमा स्थापित गरिन्छ (सो धातु मूर्ति वर्षेनी गुठीयारको घरमा पालैपालो राख्ने प्रचलन छ।) बैकुण्ठ चतुर्दशीको राति जात्राको लागि देवी देवतालाई आह्वान गरिने कार्य हुन्छ । बैकुण्ठ चतुर्दशीको राति महालक्ष्मी मन्दिरको प्राङ्गणमा होम गरेर देवदेवीको आह्वान गरिन्छ । यसलाई ‘ह्वँ यायगु’ भनिन्छ । यो सत्र दुवाःहरूको ह्वँ गुठी द्धारा सम्पन्न गरिन्छ । आचाजु (कर्माचार्य थरका दीक्षित व्यक्ति) द्वारा तान्त्रिक विधिपूर्वक होम गराइन्छ । यसरी होमद्धारा देवदेवीको आह्वा नगरी जात्रा शुरू हुँदैन । होम गर्दा गुठीयारहरूले राति बोका बलि दिएर समय् बजी खान्छन् । यसो गर्दा जात्रामा विध्नबाधा आउँदैन् भन्ने जनविश्वास छ । यसैदिन जात्राको लागि राँगो मारकाट गरिने हुँदा छ्वय् ला भ्वय् खाने प्रचलन छ ।
बिहानीपख होम कार्य सम्पन्न भएपछि मूलतः गोपाली र देसारहरू सम्मिलित सनागुठीद्धारा लण्ठ टोलमा ‘मण्डःम्ये’ अर्थात् क्षेत्रपालको लागि राँगो काट्ने विधि प्रारम्भ हुन्छ । क्षेत्रपाल (मण्डः) ले गाउँको रक्षा गरिरहेकोले यसको सम्मान स्वरूप यो पूजा सम्पन्न गरिन्छ । यसैबेला देसार (बाै) हरूले गाउँको वरपर घेराबन्दी गर्दै भात छर्कर मन्छ्याउने पनि गर्दछन् । लण्ठकोलबाट महालक्ष्मी मन्दिरको गजूरको समानान्तर राँगाको टाउको देखाएर बलि चढाइन्छ । भनिन्छ, बलि चढाउन बाँधेर लडाइएको राँगो तबसम्म छट्पटाउँदै घुम्दछ जबसम्म त्यसको टाउकोले मन्दिरको गजूर देख्दैन् ।उक्त बलि दिइएको राँगोको टाउकोको सी (सगुन) मध्ये एइक चाैथाइ भाग देसारहरूले पाउँछन् भने तीन चाैथाइ भाग गोपालीहरूको हुन्छ ।
दोश्रो दिनः
कार्तिक शुक्ल पूर्णिमका अर्थात् सखिमना पुनीको बिहानैदेखी महालक्ष्मी, आदिनारायण, सिद्धिगणेश, भैरवनाथ आदिको दिनभर पूजा आराधना गरिन्छ । व्रत उपसान बस्ने गरिन्छ । कुनैकुनै धर्मावलम्बीहरू त पूर्णिमाको रातभरि आफ्नो जीउको विभिन्न अङ्गमा दियो बालेर उपसना र जाग्राम पनि बस्ने गरेको पाइन्छ । यस्तो कठीन उपसना गरिनु पनि एक महत्वपूर्ण कडी हो । यो दिन जात्राको मू भ्वय् (मुख्य भोज) हुन्छ ।
पूर्णिमाको जुनेली साँझमा आदिनारायणको धानु मूर्ति खटमा राखेर बाजागाजासहित जात्रा प्रारमभ गरिन्छ । खट नचाउँदै चोछें, सिकःछेँ, कोतघर, चाफल, नासल, ताहाफल, लाय् ब आदि विभिन्न टोलमा परिक्रमा गराइन्छ । टोलबासीहरूबाट पूजा आराधना गरेर नारायण भवगानको स्वागत सत्कार गरिन्छ । आदिनारायणको खटजात्रा सकिएपछि राति गणेश गुठीका पालो पर्ने गुठियारको घरमा रहेको जात्रा गर्ने गणेशको धातुमूर्ति बाजागाजासहित इमाखेलस्थित सिद्धिविनायक स्थानमा लगिन्छ । त्यहाँ गणेशको पूजा आराधना गरि राति एक दुई बजेतिर ‘द्यो थहाँ बिज्याकेगु’ भनेर सिद्धिगणेशलाई फर्काएर ल्याई महालक्ष्मी मन्दिरको प्राङ्गणमा उत्तराभीमुख पारेर राखिएको खटमा विराजमान गराइन्छ । अनि महालक्ष्मीको मूर्ति पनि सोही स्थानमा राखिएको खटमा विराजमान गराइ जात्राको लागि तयार पारिन्छ ।
त्यसपछि भैरव गुठीका देसार थरका गुठीयारहरूले बाकुननी टोलबाट भैरवको रूपमा जाँडले भरिएको तामाको घ्याम्पो मुकुटसहित सिङ्गारपटार गरेर गाउँको पुच्छारमा रहेको च्यानडोलको अनन्त भैरवस्थानस्थित लात्याख्यः अगाडी बसिाएर एउटा हाँसको बलि चढाएर पूजा गरिन्छ । त्यसपछिकतै नबिसाएर भैरवस्थान (च्यानडोल) मा पुर्याइन्छ । त्यहाँ खास मन्दिर छैन, दुईवटा ढुङ्गाका सिंहहरू भने देखिन्छन् । भैरव पूजापछि व्रतालु देसार र कपालीहरू लस्कर बसेर भोज खान्छन् । त्यस अवसरमा सबै जातिलाई सँगै बसी भोज खान छुट छ । कपाली (कुसले) जाति नै थकाली हुनुपर्ने यस भोजमा पलेटी कसेर बस्दा एकले अर्काको घुँडा छुनैपर्ने र आफ्नो अगाडी जति भोजको भाग पर्छ ती सबै खानैपर्ने रोचक परम्परा आजसम्म कायममै देखिन्छ । यो जातीय समानताको द्योतक पनि हो ।
त्यहाँ पूजा र भोज भतेर सकेर बिहान दुई तीन बजेतिर नै भैरवलाई विधिअनुसार सिंगार्ने गरेको पाइन्छ । फूल, ध्वजा पताकाका साथै मण्डः म्येँ (क्षेत्रपालमा बलि दिइएको राँगो) को आन्द्रा फुकेर बनाइएको मालाद्धारा सिङ्गारिएको भैरवको आकृति भयंकर र डरलाग्दो नै लाग्दछ । यी सबै जात्राक्रममा थानकोटबासीहरू उल्लासका साथ सहभागी हुने गर्दछन् ।
अन्तिम दिनः
मंसिर कृष्ण प्रतिपदा (पारू) को झिसमिसेमै सिन्दुर जात्रा प्रारम्भ हुन्छ । पूर्णिमाको बिहानीपख महालक्ष्मीको विधिपूर्वक यज्ञादि पूजा गरी खटमा विराजमान गराइन्छ । खटमा विराजमान सिद्धि (इन्द्र) विनायकको मूर्ति र महालक्ष्मीको मूर्तिमा पुनः पूजा आराधना गरिन्छ । गुठीयारहरू र गाउँका प्रतिष्ठित व्यक्तिहरू तथा गाउँलेहरूका साथै पाहुनाहरू सखारै जमघट भैसकेका हुन्छन् । मन्दिरको प्राङ्गणको पश्चिमपट्टी रहेको पाटी (वडा कार्यालयको पेटी) मा अहिले सरकारी जुवाः अर्थात् नाइके वा पुजारीको रूपमा वडाध्यक्ष, सदस्य लगायत गाउँका गन्यमान्य, प्रतिष्ठित व्यक्तिहरू तथा गुठीयारहरू बस्ने गर्छन् । पहिले जात्रा प्रारम्भ गर्दाका बखत त्यहाँ राजा वा गाउँका मुखिया वा द्वारे, भाइभारदार बस्ने गर्दा हुन् । जात्रुहरूको घुँइचो सँगसँगै सिन्दुर जात्रा प्रारम्भ हुन्छ ।
सर्वप्रथम सिद्धी विनायकको खट आठ जनाले बोकेर उठाइन्छ । त्यसपछि मात्र महालक्ष्मीको खट अरू आठ जनाले बोक्छन् र झ्याली, झ्याम्टा, धिमे, नायखीं, काः, म्वायली (सहनाई) आदि बाजाको तालमा खटहरू नचाइन्छन् । महर्जन दरका एकजना डमरू बजाउँदै खट समाती अगाडी अगाडी कुदिरहेको हुन्छ । दुवै खटको पछाडीपट्टि ठूलो रङ्गीचङ्गी छत्र ओडाएर घुमाउँदै एकउक जना खटसँसँगै लगिरहन्छन् । भनिन्छ, छत्र ओडाउनेले खटलाई नियन्त्रण गर्ने काम गर्दछ । छत्र ओडाउनका लागि पनि एउटा गुठीको व्यवस्था छ । त्यस गुठीमा नकर्मी र महर्जनहरू सम्मिलित रहेकोमा हाल नकर्मी मात्रै सहभागी रहेको बुझिन्छ । खट नचाउँदा नचाउँदै बेला बेलामा हुन्याउँदै पालैपालो गणेश र महालक्ष्मीको खट पाटीमा बसेको गन्यमान्यको अगाडि पुर्याइ सिन्दुर थाप्ने गरिन्छ । त्यतिबेला उल्लासका साथ गुठीयार तथा गन्यमान्यहरूद्धारा सिन्दुर छरेर देवदेवीको अभिषेक गर्दा वातावरण रोचक र रमाइलो बन्छ ।
यसरी पालैपालो ती दुवै खट घण्टाैघण्टाै नचाउँदै सिन्दुर जात्रा गरिन्छ । दुई तीन घण्टा सिन्दुर जात्राको क्रम चलेपछि खटहरू बिसाइन्छन् । अनि भक्तजनहरूबाट पूजाअर्चना हुनुका साथै थानकोटबासीहरू आफ्ना इष्टमित्र, साथीभाई आदिको आतिथ्य सत्कारतर्फ लाग्छन् ।
दिउँसो लाय् ब, ताहाफल, बाकुननी, लण्ठ आदि विभिन्न टोलमा दुवै खटहरू लगेर नचाउँदै जात्राक्रम जारी राखिएको हुन्छ । साँझपख खटहरू झ्यालम्पाटीको पश्चिमपट्टी बद्रीनारायण मन्दिरको पछाडी पुर्याइन्छ । त्यहाँ सरकारी पूजा सम्पन्न गरिन्छ । अनि कोतघर घुमाउँदै चाफलमा स्थापित घ्याम्पोरूपी भैरवलाई परिक्रमा गरेर द्यः त्वाय् चिंकेगु (देवता मीत लगाउने) कार्य हुन्छ । यसबेला तःसि इनेगु अर्थात् बिमिरा साटासाट गरेर मीत लगाउने काम सम्पन्न गरिन्छ । त्यसपछि महालक्ष्मी र गणेशको खट नासः स्थानमा ल्याइन्छन् । त्यसको लगत्तै भैरवरूपी घ्याम्पो पनि नासलमै ल्याइन्छ । अनि गोपालीका दुई कन्याको गोपली गुठीमा रहेको भैरवको मूर्ति अगाडी ईहि सम्पन्न गरिन्छ । तर यस अवसरमा थानकोटका दुई गोपाली कन्याहरूको ईहि पूजा गर्ने परम्परा भने अध्यावधि छ । गोपाली गुठीमा रहेको भैरवको मूर्ति अगाडी ईहि गरिने कन्याहरू भाग्यमानी मानिन्छन् ।
महालक्ष्मी, गणेश र भैरवको मिलन गराएर बेलुका आठ नाै बजेतिर जात्रा सम्पन्न हुन्छ । यसरी देवदेवीको मेलमिलाप गराइने सिन्दुर जात्राले मानवजातिमा पनि मेलमिलापको सन्देश दिन खोजिएको पाइन्छ ।
सिन्दुर जात्रा थानकोटको लागि मात्रै हैन् देशकै लागि पनि गाैरवमय बनेको छ ।
प्राचीनकालदेखि नै यो जात्रा चल्दै आएको भनाई बुढापाकाको छ । कहिलेदेखि जात्रा शुरू भयो यो ठोकुवा हुन सकेको छैन् । मल्लकालमा राजारजाैटाको अस्तित्व रहेको बेलामा सायद कुनै मल्ल राजाले थानकोटमा विजय हासिल गरेर जात्राको प्रथा चलाएको हुनसक्छ ।
तेजप्रकाश श्रेष्ठको कृति शोणितपुर हो प्राचीन गाउँबाट तयार पारिएको सामाग्री