साफ यू १५ महिला च्याम्पियनसिपः संघर्षपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायो

Thankot Times

थानकोट । 

नेपाली यू-१५ महिला राष्ट्रिय टोलीले साफ यू-१५ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा उपाधि दाबेदार बंगलादेशलाई हराएको छ ।

बंगलादेशको ढाकास्थित मोस्ताफा कमल रंगशालामा नेपालले फरवार्ड वर्षा ओलीको गोलमा १-० को जित दर्ता गरेको हो । वर्षाले खेलको ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । सिमरन राईले पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिकलाई बंगलादेशी गोलरक्षक अघि बढेको अवस्थामा वर्षाले प्लेसिङ गरेको बलले जाली चुम्यो ।

यसअघि पहिलो खेलमा नेपालले भुटानमाथि ७-० को जित दर्ता गर्दा वर्षाले एक्लै ४ गोल गरेकी थिइन् । उनी ५ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अगाडी छिन् ।

यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको बंगलादेशको ३ अंक छ । भुटानले हालसम्म अंक जोडेको छैन । भुटान पहिलो खेलमा बंगलादेशसँग ८-० ले पराजित भएको थियो ।

३ राष्ट्र सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिमा भइरहेको छ । लिगको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिता जित्नेछ । नेपालले अब भुटान र बंगलादेशसँग नै खेल्नेछ । नेपालले अब बुधबार भुटानलाई पराजित गरेर शुक्रबार बंगलादेशलाई बराबरीमा रोकेपनि उपाधि जित्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *