तिहारमा इटालीको किबी, भियतनामको ड्रागन फ्रुट, भारतको केरा, चीनको स्याउ

थानकोट ।
यसपटकको तिहारमा नेपाली बजारमा विभिन्न देशका फलफुलको किनबेच भएको छ । फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुम्रबराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् ।
काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको छ ।
नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौंका अध्यक्ष अम्मर बानियाँका अनुसार तिहारमा मुख्यगरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिवलको खपत बढी हुने गर्दछ । हुनेखानेले किबी, अङ्गुर, ड्रागन फ्रुटलगायत महङ्गा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ ।
तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिएको छ ।
चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो । मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।
अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । उनको अनुमानका अनुसार १५ करोड रुपैयाँको चिनियाँ स्याउ काठमाडौं उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन् ।
नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए । उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ । तिहारका पाँच दिनमा मात्रै ४० करोड रुपैयाँका पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोड रुपैयाँको नेपाली केरा भित्रिएको छ ।
लक्ष्मी पूजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ ।
यतिबेला भारतीय हलुवावेद बजारमा छ्याप्छ्याप्ती छ । त्यस्तै काँचै खान मिल्ने जापानी हलुवावेद पनि बजारमा पर्याप्त मात्रामा छ । अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनीयको किबीले नेपाली बजार लिएको छ ।
त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो । अध्यक्षे बानियाँ भन्छन्, ‘बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ । हेर्दा उनीहरुको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ तर उपभोक्ताले यो कुरा बुझ्दैनन् । भाडा, भन्सार आदि सबै तिरर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ । नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ ।’ उनका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ ।
रासस