च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो बार्सिलोना

थानकोट ।
स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
गएराति भएको खेलमा बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको हो । खेलको १०औँ मिनेटमै बायर्नका लागि साडियो मानेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ३१औँ मिनेटमा एरिक मोटिङले गो गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० को अग्रता लिएको बायर्नले दोस्रो हाफको इन्जुरी समयमा थप एक गोल गर्न सफल भयो । खेलको ९५ औँ मिनेटमा बेन्जामिन पाभार्टले गोल गरेपछि बायर्नले बार्सिलोनामाथि ३-० को जित निकालेको हो । बायर्न यसअघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको थियो ।
यसै समूहबाट इन्टर मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति नै भएको खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको थियो । इन्टरका लागि एडिन जेकोले दुई तथा रोमेलु लुकाकु र हेनरिक मिखितारियनले १-१ गोल गरे ।
बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्दा समान खेलबाट १० अंक जोड्दै इन्टर दोस्रो स्थानमा रहन सफल भयो । बार्सिलोनाले ५ खेलमा ४ अंक जोड्यो भने समूहको पुछारमा रहेको भिक्टोरिया प्लेजन अंकविहीन छ ।