एउटा ल्यापटपको मोल ६५ लाख ! विमानस्थल भन्सारले रोक्यो सामान

थानकोट ।
नेपाल दूरसञ्चार प्राधिकरणका लागि खरिद गरिएका सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा रोकिएका छन् । प्राधिकरणका लागि लेबनानस्थित भेनराइज सोलुसन कम्पनीले ती सामान नेपाल भित्र्याएको हो ।
नेपाल भित्र्याएका ती सामग्रीको मूल्य अस्वाभाविक देखिएपछि सामान भन्सारले राेकेकाे हाे । भन्सार कार्यालय स्रोतका अनुसार, भेनराइज सोलुसन कम्पनीले १ अर्ब १२ करोड रुपैयाँबराबरका सामग्री नेपाल भित्र्याएको हो । जसमा सर्भर, ल्यापटप र कल फोन छन् ।
स्रोतका अनुसार, भेनराइज कम्पनीले खरिद गरेको एउटै ल्यापटपको मूल्य ६५ लाख रुपैयाँसम्म छ । उक्त ल्यापटप डेल कम्पनीको हाे । त्यस्तै, अर्काे डिभाइसलाई १ करोडमा खरिद गरिएको छ ।
प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले दूरसञ्चारका लागि आउने प्राविधिक सामग्री (ट्राफिक मोनिटरिङ) प्राधिकरणको गुणस्तर वृद्धिका लागि आयात गरिएको बताए । हाल आएको ल्यापटपको मूल्य ६५ लाख पुग्नुको कारण भने ल्यापटपसहित त्यसका लागि आवश्यक ड्राइभ टेस्ट, कन्ट्रोल प्यानलसहित भएकाले महँगो पर्न गएको उनको दाबी छ ।
यसअघि प्राधिकरणका लागि आवश्यक खरिद प्रक्रिया नै विवादमा परेको थियो । जसका कारण २०७६ मा खरिद प्रक्रिया नै रद्द गरेको थियो । तर, प्राधिकरणका लागि आवश्यक सामग्री आफैँले ल्याउन पाउनुपर्ने मागसहित लेबनानस्थित भेनराइज सोलुसन कम्पनी सर्वोच्च पुगेको थियो ।
सर्वोच्चले २०७८ मा भेनराइज कम्पनीलाई नै ल्याउन दिने आदेश गरेको थियो । सोहीबमोजिम कम्पनीले प्राधिकरणका लागि सामग्री नेपाल भित्र्याएको हो । भन्सार स्रोतका अनुसार, सामग्री लेबनानको कम्पनीले ‘ट्याक्स हेभन’ मुलुक साइप्रसबाट नेपाल भित्र्याएको खुलेको छ ।
प्राधिकरणका लागि भेनराइज सोलुसनले करिब ३ अर्ब रुपैयाँबराबरको प्राविधिक सामग्री ल्याउने जिम्मा पाएको थियो । हाल पहिलाे चरणमा आयात भएको १ अर्ब रुपैयाँको सामग्री खरिद नै विवादमा परेकाे छ ।