काठमाडौं ९ का उम्मेदवार मिलन पाण्डेले ल्याए घोषणापत्र
थानकोट ।
काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।
शनिबार स्यूचाटारमा आयोजित कार्यक्रममा आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उनले यसपालि मतदाताहरू परिवर्तनको पक्षमा रहेकाले ३१ वर्षदेखि स्थापित एउटै अनुहारलाई धन्यवादसहित बिदा गर्नुपर्ने बताए ।
कार्यक्रममा विवेकशील अभियान र साझा पार्टी नेपालको तर्फबाट बागमती प्रदेश सभाको लागि २७ जना उम्मेदवारको तर्फबाट पनि प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।
पाण्डेले आफू उम्मेदवारसँगै यही क्षेत्रको मतदाता समेत हुनाले आफ्नो सांसदको रूपमा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले प्रतिनिधित्व गर्न नसकेको बताए ।
पाण्डेले आफूलाई सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनलाई छोडेर भोट दिनुपर्ने ५ कारण पनि उल्लेख गरे । आफू इन्जिनियर भएको हुँदा विकासलाई वैज्ञानिक र परिणाममुखी तरिकाले बुझेको, आफू ३३ वर्षको युवा भएकोले र परिवर्तनलाई नजिकबाट बुझेको पनि पाण्डेले जिकिर गरे ।
‘गठबन्धन वा एमाले उम्मेदवार जित्दा संसद्मा केही नयाँपन आउँदैन् । एउटा इन्जिनियर युवा उठ्दा सांसदमै ताजापन आउँछ’ उनले भने ।