नवौं राष्ट्रिय खेलकुदको आज समापन हुँदै

थानकोट ।
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ।
आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ। समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ।
यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ।
गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लवले तीन सय १४ पदक जितेर शीर्ष स्थानमा छ। प्रतियोगितामा सेना च्याम्पियन बन्ने निश्चित भएको हो। उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ।