काठमाडौं-१० मा त्रिपक्षीय भिडन्त
थानकोट ।
आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १० मा त्रिपक्षीय भीडन्त हुने निश्चित छ । १८ जनाले उम्मेदवारी दिएको यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका राजन केसी (६४), एमालेका हिमेश केसी (३९) र माओवादी केन्द्रकी अञ्जना बिशंखे (४८) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि १५ राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १८ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस उम्मेदवार केसी कांग्रेस केन्द्रीय सदस्य हुन् भने माओवादी केन्द्रकी उम्मेदवार बिशंखे स्थायी समिति सदस्य हुन् । एमालेका युवा नेता केसी पनि स्थानीय युवामाझ लोकप्रिय मानिन्छन् । तर, यो क्षेत्रमा विगतदेखि कांग्रेसले जित्दै आएको छ ।
२०७४ मा यहाँबाट केसीले बाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका थिए । केसीले २४ हजार १९० मत ल्याउँदा शाक्यले २१ हजार ९०७ मत पाएका थिए । त्यसअघि २०७० मा पनि केसीले नै जितेका थिए, २०६४ को निर्वाचनमा केसी तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए ।
२०७४ को निर्वाचनमा केसीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव हारेका थिए । तर, यसपटक भने क्षेत्रको माहोल फेरिएको एमाले र माओवादी नेताहरूको भनाइ छ ।
एमाले र माओवादी केन्द्रले यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने दाबी गरेका छन् । माओवादी उम्मेदवार बिशंखे २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्की सदस्य हुन् । यसअघि ०७४ मा समानुपातिकतर्फबाट सांसद् बनेकी थिइन् ।
यो क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका दस वडा (२, ३, ४, ५, ६, ७, ८, ९, १० र ११) यस क्षेत्रमा पर्दछन् । स्थानीय तह निर्वाचनमा भने यी तीनवटै स्थानीय तह नेपाली कांग्रेसले जितेको छ । यी नगरपालिकामा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो छन् ।
‘कांग्रेसमा पार्टीभित्रै असन्तुष्टि छ । फेरि धेरै जना स्वतन्त्र उम्मेदवार छन्,’ माओवादी केन्द्रका एक नेताले भने, ‘पटक-पटक कांग्रेसलाई जिताउन क्षेत्रको विकासमा खासै काम हुन नसकेको निष्कर्ष छ । त्यही कारण गठबन्धनमा यो क्षेत्र हामीले दाबी गरेका थियौं ।’ कांग्रेस नेताहरूले भने एकल प्रतिस्पर्धा गर्दा समेत जित सहज भएका कारण एकल उम्मेदवारी दिएको बताएका छन् ।
केसीद्वय र बिशंखेसहित यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम थापा (४७), नेपाल मजदुर किसान पार्टीबाट नारायण महर्जन (५८), मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला (३५), हाम्रो नेपाली पार्टीबाट इन्द्रबहादुर बराल (६९), नागरिक उन्मुक्ति पार्टीबाट कुमार लामा (५९), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णलाल श्रेष्ठ (६१), राष्ट्रिय जनमुक्ति पार्टीबाट धनकेशर सुर्यवंशी (६५), नेपाली कांग्रेस (बीपी) बाट सन्तप्रसाद श्रेष्ठ (५१), विवेकशील साझा पार्टीबाट सनन श्रेष्ठ (३६), आमूल परिवर्तन मसिहा पार्टीबाट चेतबहादुर मुक्तान (४०), नेपाल आमा पार्टीबाट गंगाप्रसाद भेटवाल (४६) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रदीप विष्ट (४७) उम्मेदवार छन् । त्यस्तै, यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि राजकुमार थापा (५०), रामबाबु ठाकुर (५०), तिलकबहादुर रिज्याल (५५) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।