पाँचाै नैकाप गोल्डकपः व्यक्तिगत उच्च गोलकर्ताको सूचीमा कुन कुन खेलाडी छन् ?

Thankot Times
थानकोट ।
पाँचाैं संस्करणको नैकाप गोल्डकपको सेमिफाइनल खेल मंगलबारबाट सुरू हुँदैछ । पहिलो सेमिफाइनलमा मंगलबार दिउँसो साबिक विजेता तारकेश्वर युथ क्लब र प्रतियोगितामा उच्च फर्म रहेको गणेशमान स्मृति फुटसलबीच खेल हुनेछ । दोश्रो सेमिफाइनलमा बुधबार गोल्डस्टार युथ क्लब र साबिक उपविजेता ब्लुबेल एपसीबीच खेल हुनेछ ।

चन्द्रागिरि स्पोर्टस् एकेडेमीको आयोजना भइरहेको प्रतियोगिताका विजेताले नगद पाँच लाख रूपैयाँसहित शिल्ड पाउनेछन् ।

प्रतियोगिताको उपविजेता हुनेले दुई लाख रूपैयाँ नगद पुरस्कार पाउँदा पराजित हुने दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद हात पार्नेछन्।

त्यस्तै, यसै वर्षबाट आयोजकले चन्द्रागिरि स्पोर्ट्स अवार्डको पनि सुरूवात गर्ने बताइएको छ जसमा चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी मध्ये सर्वाधिक सफल खेलाडीलाई उक्त सम्मान प्रदान गरिने छ । चन्द्रागिरि स्पोर्ट्स अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ ।

व्यक्तिगत उच्च गोलकर्ताको सूचीमा हालसम्म गोल्डस्टारका कप्तान मिसान लामाको अग्रता कायमै छ । उनले व्यक्तिगत ५ गोल गरेका छन् । उनको टोलीले बुधबार ब्लु बेलसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

त्यस्तै, गणेशमान स्मृतिका चार खेलाडीले र ब्लु बेल एफसीका २ खेलाडीले समान २-२ गोल गरेका छन् । गणेशमान स्मृतिका आयुष कुँवर, निसान धानुक, पुष्कर खड्का र विवेक पण्डितले समान २-२ गोल गर्दा ब्लु बेलका सुजित बुढाथोकी र संजोग महर्जनले पनि व्यक्तिगत २-२ गोल गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *