नवाैं राष्ट्रिय खेलकुदः चन्द्रागिरि ९ मच्छेगाउँका स्वर्णिमले चुमे स्वर्णपदक

थानकोट ।
शुक्रबारबाट गण्डकी प्रदेशका विभिन्न जिल्लामा औपचारिक रूपमा नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरू भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नेपाली खेलकुदका लागि यो प्रतियोगिता सबभन्दा ठूलो मेला हो । यो मेला प्रत्येक दुई वर्षमा आयोजना हुने नियम छ । तर पटक पटक सारिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि साइत बल्ल जुरेको छ । जे होस् ३९ वर्षपछि फेरि पोखरामा दोस्रो पटक घरेलु खेलकुदको सबभन्दा ठूलो मेला भइरहेको छ । यसअघि २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेटिक्स, भारोत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्यास्टिक, पौडी, कबड्डी, हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाकताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, रग्बी सेभेन ए साइड र प्याराग्लाइडिङ रहेका छन् । यसपालि रग्बी खेल थपिएको हो । अन्य ३५ खेल पछिल्लो संस्करणमा पनि खेलाइएको थियो । यसमध्ये पुरुष क्रिकेट खेल काठमाडौँमा सम्पन्न भइसकेको छ । नेपाल टि २० क्रिकेट लिगको समय जुधेको भन्दै काठमाडौँमा पहिले नै पुरुष क्रिकेटको आयोजना भयो । यस प्रतियोगिताको उपाधि जितेर नेपाल प्रहरी नवौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक विजेता बनिसकेको छ ।
व्यक्तिगत, समूहगत, टिम गेम सबै खेलका खेलाडी तथा प्रशिक्षक र खेलकर्मी यो महोत्सवमा सहभागी हुन्छन् । राष्ट्रिय खेलकुदले घरेलु खेलकुदको विकास मात्र होइन, नेपालका सबै खेलकर्मीलाई एउटै ठाउँ, एउटै लक्ष्य र एउटै भावनामा बाँध्ने उद्देश्य पनि बोकेको छ ।
यसैबीच नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत कराँते खेलको पुरुष एकल काता विधामा चन्द्रागिरि ९ मच्छेगाउँका स्वर्णिम मानन्धरले स्वर्ण पदक जितेका छन् । नरहरीपुर कराँते डोजोका प्रशिक्षार्थी मानन्धरले सशस्त्र प्रहरी बल क्लबबाट प्रतियोगितामा सहभागिता जनाएका हुन् ।