कति होलान् चन्द्रागिरि नगरपालिकाले नियमन गर्ने सहकारीको संख्या ? चन्द्रागिरि १२ मा छन् २२ वटा सहकारी
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा कति वटा सहकारी संस्थाहरू क्रियाशील हाेलान अनुमान गर्न सक्नुहुन्छ ? पछिल्लोपटक सार्वजनिक भएको विवरण अनुसार चन्द्रागिरि नगरपालिकामा १ सय ५१ वटा सहकारी दर्ता रहेको पाइएको छ । यसमा बचत तथा ऋण सहकारी, बहुउद्देशीय सहकारी, कृषि सहकारी, उपभोक्ता सहकारीहरू पर्दछन् । उक्त संख्या चन्द्रागिरि नगरपालिकाले नियमन गर्ने सहकारीहरूको मात्रै भएको नगरको आर्थिक विकास शाखाले जनाएको छ ।
चन्द्रागिरि नगरपालिकामा रहेका केहि सहकारीहरू जिल्ला सहकारी संघको नियमनमा पर्दछन् । चन्द्रागिरि नगरको आर्थिक विकास शाखाले थानकोट टाइम्सलाई उपलब्ध गराएको विवरण अनुसार चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा विभिन्न उद्देश्यका २२ वटा सहकारी दर्ता छन् । संख्यात्मक रूपमा सबैभन्दा कम सहकारी वडा नं. १३ मा २ वटा सहकारीहरू क्रियाशील रहेका छन् ।
नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार चन्द्रागिरि १ मा ५ वटा सहकारी संस्था क्रियाशील छन्, चन्द्रागिरि २ मा ४ वटा, चन्द्रागिरि ३ मा १९ वटा, चन्द्रागिरि ४ मा ८ वटा, चन्द्रागिरि ५ मा १० वटा सहकारी संस्थाहरू क्रियाशील छन् । त्यस्तै, चन्द्रागिरि ६ मा २ वटा, चन्द्रागिरि ७ मा ११ वटा, चन्द्रागिरि ८ मा ११ वटा, चन्द्रागिरि ९ मा १४ वटा सहकारी संचालनमा रहेको पाइएको छ ।
त्यस्तै, चन्द्रागिरि १० मा ६ वटा, चन्द्रागिरि ११ मा १५ वटा, चन्द्रागिरि १२ मा २२ वटा, चन्द्रागिरि १३ मा २ वटा, चन्द्रागिरि १४ मा ७ वटा र चन्द्रागिरि १५ मा १५ वटा सहकारी संचालनमा रहेका छन् ।