राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पोखरामा

थानकोट ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुगेका छन् । भोलि शुक्रबार अपरान्ह ४ः०० बजे पोखरा रङ्गशालामा उनले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
उपराष्ट्रपतिको पोखरा आगमनसँगै स्थानीय सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उनी उपस्थित हुन सकिनन् ।
गण्डकी प्रदेशका आठै जिल्लामा भोलिदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
शुभारम्भका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचार-प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।
राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।
रासस