अब बोतलको पानी १ लिटरको १६ रूपैयाँ र २० लिटर जारको ४७ रूपैयाँ

थानकोट ।
सरकारले बोतल पानीको मूल्य तोकेको छ । अब काठमाडौं उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रूपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रूपैयाँ निर्धारण भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेको हो।
काठमाण्डाै उपत्यका बाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रूपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रूपियाँ निर्धारण गरेको विभागले जनाएको छ ।
संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको हो।
विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार यसअघि सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनका आधारमा मूल्य तय गरिएको हो।
विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि विभागले जनाएको छ।