वातावरणीय सरसफाईका लागि चन्द्रागिरिका हरेक वडालाई मासिक बजेट
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले वातावरणीय सरसफाईलाई नियमित अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर क्षेत्रका मुख्य मुख्य चोक, धार्मिकस्थल एवं मुल तथा सहायक मार्गहरुको नियमित सरसफाईका लागि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको नगरप्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
नियमित सरसफाई कार्यक्रमका लागि नगरपालिकाका सबै १५ वटै वडाहरुका लागि मासिक बजेट उपलब्ध गराइएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । साे अनुसार नगर क्षेत्रका मुख्यमुख्य चोक, धार्मिकस्थल तथा मुल तथा सहायक मार्गहरुको नियमित सरसफाईमा खटिएका जनशक्तिले वडा कार्यालयमार्फत मासिक ज्याला पाउनेछन् ।
नगरप्रमुख गिरीले चन्द्रागिरि नगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको ग्रीन बेल्ट सफाई तथा मलजलका नगरपालिकाले छुट्टै युनिट खटिएको जानकारी दिनुहुँदै राजमार्गको सफाईका लागि सडक विभागका कर्मचारी नियमित रुपमा खटिईरहेको बताउनुभयो । उहाँका अनुसार ग्रीन बेल्ट सफाईको नगरपालिकाले नियमित अनुगमन समेत गरिरहेको छ ।
मुख्य राजमार्गको हरियाली कायम राख्ने तथा सरसफाईका लागि चन्द्रागिरि नगरपालिकाको यूनिटले सतुंगलदेखी नागढुङ्गासम्मकाे सडककाे ग्रीन बेल्टकाे स्याहार सम्भार गरिरहेकाे छ ।
त्यस्तै, चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र पर्ने सहायक मार्गहरु गणेशमान सिंह सडक, नागढुंगा-कलंकी सडकको सफाईका लागि सडक डिभिजन काठमाण्डौका कर्मचारीहरु नियमित रुपमा खटिएका छन् ।
नगरप्रमुख गिरीले नगरबासीहरुमा आफ्नो घरटोलको सरसफाईका लागि अनुरोध गर्नुहुँदै नगरबाट नियमित रुपमा हुने मुख्यमुख्य चोक, धार्मिकस्थल तथा मुल तथा सहायक मार्गहरुको नियमित सरसफाईका बारेमा चासो राख्न अनुरोध समेत गर्नुभयो । उहाँले चन्द्रागिरि नगर क्षेत्रको फोहोर मैला संकलन एवं व्यवस्थापनका विभिन्न ६ वटा संस्थाहरू सक्रिय रहेको समेत जानकारी दिनुभयो ।