प्रथम चन्द्रागिरि चंगा चैटको उपाधी अजय गुरूङलाई

थानकोट ।
चन्द्रागिरि एकीकृत समाजको आयोजनामा सम्पन्न पहिलो चन्द्रागिरि चंगा चैट प्रतियोगितामा अजय गुरूङले प्रथम स्थान हात पारेका छन् ।
चन्द्रागिरि नगरपालिका १ इन्द्रस्थानमा शनिबार नगर उपप्रमुख बसन्ती श्रेष्ठले प्रतियोगितानको उद्घाटन गरेपनि खराब माैसमका कारण प्रतिस्पर्धाहरू आइतबारका लागि सारिएको थियो । प्रतियोगितामा सहभागी ४० जनालाई चार समुहमा विभाजन गरि हरेक समुहका शीर्ष दुई जनालाई अन्तिम चरणमा प्रतिस्पर्धा गराइएकोमा चन्द्रागिरि १ का गुरूङले बाजी मारेका हुन् । प्रतियोगितामा भक्तपुरका राज खत्रीले दोश्रो तथा चन्द्रागिरि ४ थानकोटका कृष्णहरि बलामीले तेश्रो स्थान हात पारे ।
प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः बीस, दश र पाँच हजार नगद पुरस्कारका साथै ट्रफी हात पारेका थिए ।
प्रतियोगिताका विजयीहरूलाई चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वाड नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गी तथा वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरणपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता खड्गीले आगामी वर्षहरूमा पनि यस खालका रचनात्मक क्रियाकलापहरूले निरन्तारता पाउनेमा आफु विश्वस्त रहेको धारणा राख्दै नगरपालिकाले यस्ता पृथक कार्यहरूको कदर गर्ने बताए ।
त्यस्तै नगरको सामाजिक विकास शाखा संयोजक एवं चन्द्रागिरि १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले परम्परागत खेलहरू प्रतियोगितात्मक रूपमा सञ्चालन हुँदा यसको उपादेयता बढेको प्रतिक्रिया दिए ।