धुमधामका साथ भित्र्याइयो थानकोटमा फूलपाती (भिडियोसहित)
थानकोट ।
बडादशैंको साताैं दिन थानकोटस्थित कोतघरमा पनि फूलपाती भित्र्याइएको छ ।
चन्द्रागिरि नगरपालिका १ दहचोकको इन्द्रस्थानस्थित कोतघरबाट ल्याइएको फूलपाती आइतबार साँझ नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा चन्द्रागिरि ४ थानकोटस्थित कोतघरमा भित्र्याइएको छ ।
जनश्रुति अनुसार गोरखा राज्यबाट गुरूजीको पल्टनसहितले ल्याएको फूलपाती हनुमानढोकास्थित दशैंघरमा भन्दा पहिले इन्द्रस्थानस्थित कोतघरमा भित्र्याउने परम्परा थियो । जुन फूलपाती थानकोट कोतघर व्यवस्थापनका पदाधिकारीहरूले बाजागाजा सहित इन्द्रस्थानबाट थानकोट कोतघरमा भित्र्याउने परम्परा रहेको चन्द्रागिरि ४ थानकोटका अध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
इन्द्रस्थानमा रहेको कोतघरबाट स्थानीय मगर थरका पुजारीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा थानकोट कोतघरका पदाधिकारीहरूलाई हस्तान्तरण गरेका थिए । सो क्रममा चन्द्रागिरि १ का वडाध्यक्ष हरिश्याम रानामगर, चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, चन्द्रागिरि १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, पूर्व वडाध्यक्ष राजेन्द्र केसी लगायत अन्य स्थानीय बासीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
थानकोटस्थित खरिबोटमा ल्याइपुर्याइएको फूलपाती कोतघरमा भित्र्याउने क्रममा स्थानीयबासीले बाजागाजासहित स्वागत गरेका थिए । फूलपाती भित्र्याउने समारोहमा संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नगरप्रमुख गिरीले आगामी वर्ष फूलपाती भित्र्याउने कार्यलाई थप व्यवस्थित र भव्य बनाउने धारणा व्यक्त गर्नुभयो ।
तस्बिरः सशांक गोपाली