बल्खुबाट २२ वटा सुमो ट्राफिक प्रहरीले नियन्त्रणमा लियो

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीको विशेष चेकिङमा अवस्था ठिक नभएका २२ ओटा सुमो जिप कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक कार्यालयका अनुसार काठमाण्डाैको बल्खुमा सोमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ ओटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा ह्याण्ड ब्रेक नभएका २२ ओटा सुमो जीपलाई नियन्त्रणमा लिइएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । नियन्त्रणमा लिएका मध्ये १४ ओटा सुमोलाई आवश्यक कारबाहीको लागी यातायात व्यवस्था विभाग मिनभवन पठाईएको र बाँकी ८ ओटा ट्राफिक प्रहरी प्रभाग किर्तिपुरमा राखिएको बताइएको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवनपनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न सोमबार बिहानैदेखि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको कमाण्डमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको थियो ।
अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले भदौ १५ गतेदेखि अभियानकैमा रुपमा सवारी चेकजाँचलाई थप तिव्रता दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *