नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६२% सकियो
थानकोट ।
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ६२.९० प्रतिशत सकिएको छ।
आइतबारसम्म इभ्याकुएसन र मुख्य सुरुङ गरी ३४ सय ५९ मिटर मुख्य सुरुङ खन्ने काम पूरा भएको आयोजनाको मासिक प्रगतिमा उल्लेख छ।
काठमाडौंतर्फ मुख्य सुरुङ ७८३.४० मिटर र इभ्याकुएसन ९३६.९० मिटर पूरा भएको आयोजनाले जनाएको छ। धादिङतर्फ ७ सय ६० मिटर मुख्य र ७ सय ७९ मिटर इभ्याकुएसन टनेल पूरा भएको छ। धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ।
इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।
सुरुङमार्गको फिनिसिङको काम पनि दुबै तर्फबाट भइरहेको आयोजनाले जनाएको छ। फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम २४.७० प्रतिशत अर्थात ६९३.८५ मिटर सकिएको छ।
आयोजनाका अनुसार अहिले टनेलको भित्रका कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ। मुख्य सुरुङको काम फिनिसिङ भइरहेको छ। दुवैतिर गरी करिब ६ सय जनाले काम गरिरहेका छन्। सुरुङमार्ग बाहिर एप्रोच सडक निर्माणको काम भइरहेको छ। काठमाडौंतिर ओभर पास निर्माण सकिएको छ। दुरसञ्चार क्षेत्रमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ। मुआब्जा वितरण कार्य लगभग अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
४४ महिनामा यो आयोजना सक्ने गरि २०७६ कात्तिकबाट काम सुरु भएको थियो। जसको आधा अवधि (३३ महिना) बितेको छ। काम सुरु गरेको हिसाबले आधा अवधि भन्दा धेरै समय सकिएको छ। प्रगतिको हिसाबले भौतिक प्रगति आधा जति भएको छ। आयोजनाको हालसम्म सम्पूर्ण भौतिक प्रगति ४२ प्रतिशत मात्र सकिएको अवस्था छ। यस्तै आर्थिक खर्च ४७ प्रतिशत अर्थात साढे १० अर्ब रुपैयाँ सकिएको छ।
नेपालमै पहिलोपटक निर्माण भइरहेको यो आधुनिक सडक सुरुङमार्ग २.७ किलोमिटरको हुनेछ। काठमाडौतिरको पोर्टल चन्द्रागिरि नगरपालिका-१ स्थित टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा हुनेछ।
जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा लागत रहने अनुमानसहित यो सुरुङमार्ग निर्माण भइरहेको हो। निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले पाएको छ। सुरुङमार्ग निर्माणमा जापानी प्राविधिकसँगै नेपाली पनि खटिएका छन्।
चन्द्रागिरि ५ दुरसञ्चार क्षेत्रमा निर्माण हुने फ्लाइओभर निर्माणको काम पनि सुरु गरिएको छ। यसका लागि जग्गा अधिग्रहण गर्नुपर्ने थियो। उक्त जग्गाको मूआब्जा रकम एक अर्ब १४ करोड रुपैयाँ रहेकोमा बजेटको स्रोत सुनिश्चितता भएर वितरण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। यस्तै फ्लाईओभरको लागि ४ वटा फाउन्डेसन निर्माण गर्ने काम सम्पन्न भएको छ।
आयोजनाका अनुसार आगामी साउनभित्र यस मुख्य सुरुङमार्गमा गाडी कुदाउन मिल्ने गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ। अहिले भइरहेको काम जसरी कुनै रुकावट बिना काम भएमा साउनमा सुरुङमा गाडी कुदाउन सकिने आयोजनाले जनाएको छ।