बैंकिङ कसुर मुद्दामा मातातीर्थका एकसहित दुई युवा पक्राउ
थानकोट ।
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोत्तम अधिकारी र चन्द्रागिरि नगरपालिका-८ बाैंथलीचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुरूषोत्तमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरिएको हो । पुरूषोत्तम बैंकिङ कसुर मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई फरार थिए । साथै नबिन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले पाँच दिन कैद, पाँच लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुरूषोत्तमलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।