अन्तर्राष्ट्रिय साक्षरता दिवसः बलम्बु मा.वि.र रिब्स मा.वि. चन्द्रागिरि नगरका अब्बल विद्यालय

Thankot Times

थानकोट ।

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको थियो । युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

चन्द्रागिरि नगरमा पनि बिहीबार ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस एक समारोहका बीच मनाइएको छ । सो क्रममा यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीहरू, शिक्षक तथा विद्यालयहरूलाई सम्मान गरिएको छ ।

रिब्स स्कुलकी लुनिभा चन्द्रागिरि नगरक्षेत्रबाट एसईईमा ४.० जीपीए ल्याउने एक्ली विद्यार्थी

चन्द्रागिरि नगरपालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा यस वर्षको एसइईमा चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सामुदायिक विद्यालय तर्फबाट सर्वोत्कृष्ठ नतिजा प्राप्त गरेका प्रभात माविका छात्र प्रविण श्रेष्ठ तथा छात्रातर्फ मंगलोदय माविकी छात्रा प्रशंसा अधिकारीलाई सम्मान गरिएको थियो भने संस्थागत विद्यालयतर्फ सर्वोत्कृष्ठ छात्रछात्रा दुवैमा रिब्स माविका विद्यार्थीहरू पल्लव खनाल र लुनिभा मानन्धरलाई सम्मानित गरिएको थियो । मानन्धर यसपटकको माध्यमिक शिक्षा परीक्षामा काठमाण्डाै जिल्लाबाट ४.० जीपीए ल्याउने ८ विद्यालयका १० विद्यार्थी मध्ये एक हुन् ।

त्यस्तै, विषयगत रूपमा सर्वोत्कृष्ठ नतिजा प्राप्त गर्न सफल विषय शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो जसअनुसार सामुदायिक विद्यालयतर्फ बलम्बु मावि र मंगलोदय माविका शिक्षकहरूले सो सम्मान प्राप्त गरे ।

बलम्बु माविले यस वर्षको एसइईमा पाँच विषयमा नगरमै उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल रहँदा मंगलोदय माविले तीन विषयमा उत्कृष्ठ नजिता प्राप्त गर्दै सम्मानित भयो ।

एसईई परीक्षा २०७८ः बलम्बु र मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल

संस्थागततर्फ रिब्स माविले विभिन्न चार विषयमा सर्वोत्कृष्ठ नतिजा प्राप्त गर्दा ऋचा सहशिक्षा सदनले तीन, बालतारा प्रतिष्ठान र नोबेल भिलेज स्कूलले समान १-१ विषयमा नगर क्षेत्रमै सर्वोत्कृष्ठ नतिजा हासिल गर्दै सम्मानित भएका थिए ।

सम्मानित हुने विद्यार्थी तथा शिक्षकहरूलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ लगायतले सम्मान गर्नुभएको थियो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा प्राप्त नतिजा अनुसार सामुदायिक विद्यायलतर्फ पहिलो, दोश्रो र तेश्रो हुने क्रमश बलम्बु मावि, मंगलोदय मावि र चण्डिकादेवी मावि तथा संस्थागत विद्यालयतर्फ रिब्स मावि, ऋचा सहशिक्षा मावि र ब्राइट फ्युचर मावि क्रमश पहिलो, दोश्रो र तेश्रो घोषित हुँदै सम्मानित भए ।

सो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *