गाउँलेले नचिनेको ‘नैकापे काका’
थानकोट ।
पहिले गाउँमै जन्मेका हुर्केका पछि गाउँ छोडी सहर पसेका सहस्रनाम धारी नैकापे काकालाई गाउँले कम अरुले बढी चिने । वहाँ नामले भन्दा कामले चिनिन चाहने स्वभावकै भएकोले यसो भएको होला । जिउँदाका जन्ती, मर्दाका मलामी नजाने कसम खाएका नैकापे काकालाई सबैले चिनुन् पनि कसरी ? न मलामी, न जन्त, न आतेपाते न मेलापाता, न धारा पधेँरा न गाउँको बास अनि चिन्नु पनि कसरी ? चिन्दै नचिन्ने त कहाँ हो र, वहाँका दौँतरी र सँगातीलाई वासुदेव, वा आत्मदेवको दाजु बाहेक नैकापे काका र भूतका भिनाजु र तने बासे भएको के थाहा ? हामीले थाहा नपाएर भो र वहाँ त स्वदेश, विदेशसम्मै विभिन्न नामले चिनिएका मान्छे, ढुङगाअड्डाका वासुदेव शर्मा लुइँटेल ।
हामी सानो छँदा वहाँ ठूलै खालको टेप रेकर्ड लिएर गाउँ पस्नु हुन्थ्यो । हामी पछिपछि लाग्थ्यौं । बुढापाकाहरूलाई आँगनमा ओच्छ्याइएको सुकुलमाथि आसन जमाउन लगाएर तीनका जीवनका दुःख सुखका कुरा, जागिरका कुरा, गाउँका कुरा फन्फन्ती घुम्ने चक्कामा रेकर्ड गराउनु हुन्थ्यो । आज त्यस्ता वाणि भरिएका चक्काहरू कता छन् होला ? आत्मदेवको दाजु ढुङगाअड्डाका बाहुन भनेर मैले वहाँलाई चिनेको त्यही बेला हो ।
उहाँ ढुङगाअड्डामा आएपछि कलङ्की थानकोट सडकको पूर्वतर्फ भाइ आत्मदेवको घर, त्यसको ठीक अगाडि पूर्वतर्फ दाजु वासुदेव लुँइटेलको चिटिक्क परेका दुईवटा घर त्यहाँ बने । आत्मदेव लुँइटेलज्यू खुँयलपाखा छोडेर यता आउनु भएको थियो भने वासुदेवज्यू चाँहि पाटनबाट आफ्नै पुर्ख्याैली थलोमा फर्की आउनु भएको थियो । घर त बन्यो चिटिक्कको तर पानीको असाध्य अभाव रहेको गाउँ पर्यो तीनथाना ढुङ्गाअड्डा । वहाँले त्यो कुरालाई सम्बन्धित पक्षसम्म पुगोस् भनेर ल्याएको जुक्ति हुनसक्छ यो । पहिले आफ्नो घरको छतमा रहेको फलामको ट्याङ्कीमा लेख्नुभो ‘पानी छ/छैन’ । पछि बडेमानको रित्तो गाग्रो तीनतला माथिको छतको पर्खालमा घोप्टाएर कौवाजत्रा अक्षरमा लेख्नु भयो ‘पानी छैन’ । यसले राजधानीको नाकैमुनि रहेको हाम्रो गाउँको पानीको समस्यालाई देश विदेशसम्म उजागर गरिदिनु भएको थियो ।
वहाँका दौँतरी बाहेक अरु गाउँलेले चिन्नु पनि कसरी । वहाँ न कसैको जन्ती जानु हुन्थ्यो न कसैको मलामी । आतेपाते गर्न घरघरमा पुगेको हामीले देखेनौँ । देश विदेशले चिनिसक्दा पनि हाम्रो पुस्ताले वहाँबारे धेरैपछि मात्र थाहा पाएको हो । त्यस अगि आत्मदेवका दाजु वासुदेव भनेर गाउँलेले चिन्दथे । तर वहाँ भने हास्यविधाका ठूला साहित्यकार, यो क्षेत्रमा लाग्ने सबैको भलो चाहने र भरथेग पनि गर्ने, सरसहयोग, हौसला दिने र सबैलाई उठाउन खोज्ने हस्ती भनेरै सबैका बीचमा चिनिनु हुन्थ्यो । छोरा, भाइ (वहाँ छोरालाई भाइ भन्नुहुन्थ्यो) डा. विद्यादेव लुइँटेलज्यूलाई त गाउँमा कोही मर्दा मलामी र जिउँदामा जन्त जाँदापनि भेट हुन्थ्यो । अझ डाक्टर भएकाले वहाँ काम गर्ने टिचिङ अस्पतालमा बिरामी भएर वा छरछिमेक बिरामी लिएर पुग्दा पहिले वहाँलाई नै सम्झन्थ्यौं । सकेको गरिदिनु हुन्थ्यो ।
वासुदेव यस क्षेत्रकै पहिलो कवि पनि हुनुपर्छ, जस्ले १९९७ सालमै शारदा पत्रिकामा ‘आमा’ शीर्षकको कविता छपाएर साहित्यमा प्रवेश गर्नु भएकोले वहाँ काठमाडौँको दक्षिण पश्चिम भेगकै पहिलो कवि हुनुपर्छ भनेर ठोकेरै भन्न सकिन्छ ।
हामीले गाउँमा गरेका साहित्यिक कार्यक्रममा वहाँलाई सम्झेर बोलाए पनि आउनु हुँदैनथ्यो । एक पटक मुनाल क्लबमा भएको साहित्यिक कार्यक्रममा भने साहित्यकार जनकप्रसाद हुमागाइँले लिएर आउनु भएको थियो । हामी मुनाल क्लबबाट देउसी खेल्नजाँदा वहाँको घर पनि छुटाउँदैनथ्यौँ । देउसी खेल्दा पनि हामीले अरु परिवारलाई देखे पनि वहाँलाई कहिल्यै देख्दैनथ्यौँ । तर वहाँले एउटा लामो लट्ठीमा क्यामरा हो वा माइक्रोफोन बाँधेर झ्याल बाहिर हाम्रा गतिविधि र हामीले खेलेको देउसी भने रेकर्ड गरिरहेको कुरा हामीले पछि थाहा पाएका थियौँ । त्यतिबेला यस्ता प्रविधिको प्रयोग गर्ने मानिसको ज्यादै कमि थियो । पछि जनकदाईको संगत पाएपछि वहाँको घरमा जाने एक दुई पटक अवसर मिल्यो । श्रृङ्खला साहित्यिक पत्रिकाको लागि आर्थिक जोहो गर्न वहाँकोमा देउसी खेल्न पनि गएका थियाैँ ।
दौरा सुरुवाल कोट र टोपीमा सजिए हिँड्ने, अग्ला गोह्रो वर्ण, सर्लक्क परेको जिउ, चुच्चे नाकका धनी वहाँलाई मैले त्यसपछि फाट्फुट् बाटामा भेट्थेँ । २०५० सालतिर हुनुपर्छ वहाँ र वहाँका छोराले गरेको कामले देशैभरि हल्लाखल्ला फैलाएको थियो । त्यो कामको हाम्रो गाउँमा पनि खुब चर्चा चल्यो, नचल्नु पनि किन ? पचास सालमा एकमुष्ट तेह्र लाख रुपैंया दाँतबाट पसिना ननिकाली छोराले बाबुका नाममा पुरस्कार राखिदिनु चानचुने कुरो थिएन । साहित्यिक क्षेत्रमा लागेर बीस तीस हजार पुरस्कार हात थापी रहेकाहरू पनि दंगदास थिए । एक लाख भन्दा बढी रकम हाता पर्ने कुराले । ब्याजबाट आएको रकमले छोरा डा. विद्यादेवले आफ्ना बाबुको नाममा बर्षैपिच्छे बाँड्ने गरी ‘वासुदेव लुइँटेल पुरस्कार’ स्थापना गरिदिनु भयो । त्यतिबेलासम्म कसैले पनि यति विधि ठूलो रकमको पुरस्कार राखेका थिएनन् । स्वयम् वहाँ नै काम गर्ने ‘मदन पुरस्कार गुठी’ले पनि गर्न नसकेको काम वहाँबाट भयो । कत्रो उदारता बाबुप्रतिको लौ हेर्नुस त, त्यो पनि घर बेचेर ।
पाटन सहरमा रहेको भएको घर बेचेर आएको पैसाले ऋण तिरेर बाँकि रहेको १३ लाख रुपैंया एकमुष्ट बैंकमा राखिदिएर पुरस्कारका लागि भरपर्दो जोहो गरिदिनुभयो । एउटा छोराले बाबुप्रति गरेको यो उदाहरणीय कामको सर्वत्रबाट जयजयकार भयो । तर यत्रो राशिको हास्यव्यङ्ग क्षेत्रको पुरस्कार वितरण गर्ने दिनको सूचना भने गाउँलेले थाहा नपाउनु चाहिँ बडो दुःख र विडम्वनाकै कुरो थियो । पत्रपत्रिका पढ्नेले पढेर थाहा पाउनु पर्थ्यो । मैले एकदुई पटक जयराम शर्माज्यूलाई निवेदन गरें, त्यत्रो महान काममा हामी पनि गाउँका नाताले यसो उभिन पाए कसो होला । त्यसपछि एक पटक पुरस्कार बाँड्दा भने सूचना पाएर पुगेको छु म । तर त्यहाँ नैकापे काका, भूतका भिनाजु वासुदेव लुइँटेल आउनु भएन । वहाँको अध्यक्षतामा हुने त्यो कार्यक्रमा त वहाँ जिउँदै मान्छेको फोटो राखेर फूल-माला पहिर्याएर पो कार्यक्रम शुरु भयो । अचम्म लाग्यो । वासुदेवज्यूलाई त्यसदिन धोको पुर्याएर हेर्ने र सुन्ने मेरो चाहना त्यतिकै तुहियो । मैरै बगलमा बसेका मान्छेबाट सुनेँ सिक्किमका मुख्य मन्त्रीले यौटा समारोहमा प्रमुख अतिथि बन्ने निम्तो दिँदा त आफ्नो फोटो पठाइदिए रे, अनि त्यहि फोटो साक्षी राखेर कार्यक्रम सम्पन्न भएको थियो रे ।
नैकापे काका, माड्साप, भूतको भिनाजु वहाँको नाम रहेको कुरा सुन्दा मलाई त्यतिबेला अचम्म लाग्थ्यो । कस्तो मान्छे होलान भनेर । पछि थाहा पाएँ आफ्नै अनेक नामले न्वारन गर्ने वहाँ अरु सहस्रका न्वारन गर्न पनि छुटाउनु हुँदो रहेनछ । फेरि पुस्तक छापिदिने प्रकाशनको नाम पनि ‘कौवा प्रकाशन’ । हामीले साहित्यिक कार्यक्रम गर्दा पुरस्कार वितरणका लागि कौवा प्रकाशनबाट प्रकाशित भएका वहाँका किताबहरू प्राप्त हुन्थे । माड्साप भन्ने पदबी त उहाँले पढाउनु भएरै पाएको उपाधि हो, जनकप्रसाद हुमागाइँले भन्नु हुन्थ्यो, वहाँ जुद्धोदय पब्लिक हाइ स्कुल, कान्तिईश्वरी र रात्रि पाठशालामा पनि पढाउनु हुन्थ्यो रे ।
फित्काैलीमा गोपीचन्द्र कार्की लेख्नुहुन्छ एकपटक मोदनाथ प्रश्रितले मलाई तपाइँको गाउँको भूतको भिनाजुलाई चिन्नुहुन्छ भनेर सोध्नु भयो । मैले नचिने पछि वहाँले ढुङगाअड्डाको वासुदेव लुइँटेल भनेर चिनाउनु भएको थियो । वहाँबाटै थाहा पाएको भूतको भिनाजु चाँहि वहाँले त्यतिबेला भूतप्रेतको जगजगी चलिरहेको समाजमा ‘भूत छैन, भूत भन्नु डर मात्रै हो । भूतको कुनै अस्तित्व छैन’ भनेर देखाउन आफै भूतको भिनाजु भएर लेख रचना लेख्नु भएको हो भन्नुहुन्थ्यो । यो सँगै वहाँबारे अर्को कुरा पनि भन्नु भएको थियो । महाकाव्य लेख्न धेरै लेख्नुपर्दैन । तपाइँकै गाउँका वासुदेवले तीन शब्दको महाकाव्य लेख्नु भएको थियो । ‘हजुर, हजुर, हस् ।’ अनि कसरी यो महाकाव्य भयो भनेर सोध्दा वहाँले भन्नु भएको थियो रे, समाजका गरिव मान्छेहरूले ठूला बडाका सामु हजुर, हजुर हस् भनेर हात मल्दै सेवक भएर जीवन बिताउनु परेको छ । यसलाई महाकाव्य किन नभन्ने वहाँ भन्नु हुन्थ्यो रे ।
वहाँले आफ्ना ठाउँथलोको परिचय गराउन कौवा प्रकाशन बाहेक ढुङगाअड्डा प्रकाशन, नयाँ नैकाप भञ्ज्याङ प्रकाशन, सेवा सदन ढुङगाअड्डा भनेर यति ठूला मानिसले गाउँलाई चिनाउनु भएकोमा वहाँप्रति म गदगद थिएँ । वहाँका बारेमा जति सुन्यो उति कौतुहुल जाग्ने भयो । पछि त मलाई वहाँले लेखेका पुस्तकै पढ्न मन लाग्यो र भाइ जयराम लुइँटेलज्यूलाई एक दिन बिन्ती बिसाएँ- लौ न, ज्यूँदामा राम्ररी चिन्न बुझ्न वासुदेवज्यूलाई नसके पनि वहाँका कृति पढ्न पाउनँ भनेपछि पाँच छ वटा पुस्तक दिनुभयो । ती किताव एक दुई दिनमै पढें र गाउँलाई चिनाउने यत्रो उचाइको मानिस आफ्नो गाउँले जन्माएकोमा मेरो नाक पनि घिरौंला जत्रै भयो । अनि साह्रै गौरवको महसुस गरें ।
हरेक वर्षको भदौमा वितरण हुने ‘वासुदेव लुइँटेल पुरस्कार’ केही समय यता हरेक दुइ वर्षमा बाँडिन थाले छ । अब वितरण हुने कसले पाउने हुन् रामजाने । कतै सुनेको छु, पहिले जस्तो अचेल यो संस्था चलायमान पनि देखिँदै छैन रे । बैंकमा रहेको पैसाले ब्याज भने पकाइ रहेको छ भन्ने पनि सुनिन्छ । अर्ति भनेको घर्तीको पनि सुन्नुपर्छ भन्ने कुरालाई मनन गर्दै मैले यसै लेखबाट विन्ति बिसाएँ- हास्यव्यङ्ग विधामा बाँडिने वासुदेव लुइँटेल पुरस्कारले निरन्तरता पावस् । हास्यव्यङ्ग साहित्यका पिता नैकापे काका र हाम्रो गाउँ ढुङगेअड्डाको नाम सदा सदा अमर भै रहोस् ।
तस्बिरः सामाजिक सञ्जाल