साफ यू-१७ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

Thankot Times

थानकोट ।

श्रीलंकामा जारी १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले एक/एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । सिमान्तले खेलको ५७औँ मिनेटमा गोल थपे ।

खेलको ६८औँ मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा पराजित भयो । जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान भारतसँग ३-० गोलले पराजित भएको थियो ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ । यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ