दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि

Thankot Times

थानकोट ।

दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ ।

बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्नेछन् ।

विभागका महानिर्देशक पाण्डेका अनुसार यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुबाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने र तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने गरी सहमति भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *