‘कोरोना महामारी रेडक्रसको मानवीय सेवामा अतुलनीय’ उपप्रमुख बसन्ती श्रेष्ठ

Thankot Times

थानकोट ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले कोभिड-१९ प्रतिकार्यको समीक्षा एवं भावी योजनासम्बन्धी एकदिने छलफल आयोजना गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा रेडक्रस काठमाडौं शाखाले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाम गर्न खेलेको भूमिकाको विषयमा छलफल भएको थियो।

समिक्षात्मक छलफलमा रेडक्रस काठमाडौं शाखाका सभापति श्याम डोटेलले कोभिड महामारीमा रेडक्रसले नागरिकलाई सुरक्षित राख्न स्वास्थ्य सामग्रीदेखि सचेतनामूलक कार्यक्रम गरेको बताएका छन्।

‘कोभिडको पहिलो र दोस्रो लहरमा लकडाउन हुँदा रेडक्रस सधैं अगाडि आएर काम गरिरहेको थियो,’ डोटेलले भने। महामारीमा मानिस घरबाहिर निस्कन नपाउँदा रेडक्रसले मानवीय उद्धार, उपचारदेखि स्वास्थ्य सामग्रीसमेत वितरण गरेको उनले स्मरण गराए।

विपतको समयमा मानवीय सेवा तथा उद्धार गर्न काठमाडौं शाखा सधैं तयार रहने गरेको उनको भनाइ छ। शाखाले एम्बुलेन्स सेवा निरन्तर सेवा सञ्चालन गरिरहेको उनले बताए।

पछिल्लो समय काठमाडौं शाखाले निरन्तर रुपमा कोभिड–१९ विरुद्धको खोपलाई निरन्तरता दिइरहेको छ। सभापति डोटेलका अनुसार मुख्यरुपमा भीडभाड हुने स्थानमा र मोवाइल खोप अभियान सञ्चालन गरिरहेको छ।

सरकारले कोभिड महामारीमा नागरिकलाई सुरक्षित राख्न खोप लगाउने जिम्मा रेडक्रसलाई दिन उनले माग गरे। स्थानीय तहमा समन्वय गरी वडा वडामा तहमा गएर खोप लगाउन सकिने उनले बताए।

‘असक्त मानिसहरूको घर–घरमा गएर पनि खोप लगाउने गरिएको छ,’ उनले अभियान चलाउँदाको दिनलाई सम्झँदै भने, ‘कोभिडको तेस्रो लहर चलिरहँदा महानगरका सडकबाट फोहोर नउठदा रेडक्रसले सफाइ अभियान कार्यक्रम चलाएको थियो।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले खोपको मात्रा कम भएकाले दोस्रो बुस्टर डोज पहिले फ्रन्टलाइनबाट लगाउन थालिएको स्मरण गराए। उनले खोप लगाउने व्यक्तिमा संक्रमणको जोखिम ८५ प्रतिशत कम हुने दाबी समेत गरे। वैदेशिक रोजगारीमा जान नक्कली खोप कार्ड बनाउनेको उजुरी परेको उनको भनाइ छ।

उनका अनुसार खोप लगाएको नक्कली कार्ड बनाएका व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ। भीडभाड हुने ठाउँमा जाँदा मास्क अनिवार्य लगाउन आग्रह गरे। मास्कबिना भीडभाड हुन कार्यक्रममा जान नहुने उनको सुझाव थियो। खोप लगाउने अभियानमा नयाँ जनप्रतिनिधिलाई तालिम कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको उनले जानकारी दिए, नेपाल लाइभमा समाचार छ ।

अब घरघरमै गएर खोप लगाउनु पर्ने बेला आएको उनले सुनाए। भीडभाड हुने ठाउँ नाकाहरूमा, राहदानी वितरण कार्यालय, प्रशासन कार्यालयमा दैनिक खोप लगाउने व्यवस्था गर्नुपर्ने उनले बताए।

चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले रेडक्रसको पहिलो कार्यक्रममा सहभागी हुन पाएको बताउदै कोरोना महामारीपनि मानवीय सेवामा रेडक्रसले गरेको काम महत्वपूर्ण रहेको उल्लेख गरिन्।

कार्यक्रममा काठमाण्डाै महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख, दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाका उपप्रमुख, नेपाल रेडक्रसका पदाधिकारी तथा शाखाका पदाधिकारीको उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *