पाँच लाख रूपैयाँ पुरस्कार राशीको नैकाप गोल्डकप असोज १० गतेबाट

Thankot Times

थानकोट ।

कोरोना भाइरस महामारीका कारण लगातार दुई वर्ष स्थगित भएको चन्द्रागिरि नगरकै प्रमुख फुटबल प्रतियोगिता नैकाप गोल्डकप असोज १० गतेबाट सुरू हुने भएको छ ।

चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका १४ स्थित नैकाप फुटबल मैदानमा सञ्चालन हुने पाँचाै संस्करणको नैकाप गोल्डकप प्रतियोगिता असोज १० गते घटस्थापनाका दिन उद्घाटन खेलाइनेछ । प्रतियोगिताको कार्तिक ५ गते फाइनल खेल खेलाइने बताइएको छ ।

३२ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स क्लबका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् । नकआउट शैलीमा खेलाइने प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पाउनेछन् ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद हात पार्नेछन्। त्यस्तै, यसै वर्षबाट आयोजकले चन्द्रागिरि स्पोर्ट्स अवार्डको पनि सुरूवात गर्ने बताइएको छ जसमा चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी मध्ये सर्वाधिक सफल खेलाडीलाई उक्त सम्मान प्रदान गरिने बताइएको छ । यस पुरस्कारको राशी ५० हजार रूपैयाँ रहनेछ ।

प्रतियोगितामा सहभागिताका लागि १९ हजार रूपैयाँ दर्ता शुल्क तोकिएको र इच्छुक फुटबल क्लबले असोज ७ गतेभित्र टिम दर्ता गर्नुपर्ने आयोजक संस्थाले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *