“टेकानपुर नेवाः सभ्यताको अमूर्त सम्पदा हो”- नगरप्रमुख गिरी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरि-४ थानकोटस्थित टेकानपुर चन्द्रागिरि नगरको विशेष बस्तीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
शनिबार टेकानपुर संस्कृति संरक्षण समितिको उद्घाटन गर्नुहुँदै नगरप्रमुख गिरीले चन्द्रागिरि नगरका प्राचीन संरक्षणका लागि नगरपालिकाले नियमित रूपमा बजेट विनियोजन हुने नीति बनाइएको जानकारी दिनुहुँदै सो का लागि यस वर्ष नगरका हरेक क्षेत्रमा विद्यमान धर्म, संस्कृति, परम्पराको सूचिकृत गर्ने कार्य जारी रहेको बताउनुभयो ।
बलम्बु र किसीपिडिलाई नगरले सम्पदा बस्तीका रूपमा सूचिकृत गरेको बताउनुहुँदै नगरप्रमुख गिरीले टेकानपुरको माैलिक परम्परा, संस्कृति जगेर्नाका लागि सफल हुने हो भने यस बस्तीलाई विशेष बस्तीका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रदेश सांसद् रमा आलेमगरले महालक्ष्मी चाैर र टेकानपुरस्थित बलामी सभ्यता एक अर्काका परिपुरक भएको हुँदा यस चाैरको बहुपयोगका लागि यस क्षेत्रको विकासका कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
संस्कृतिविद् डा. चुन्दा बज्राचार्यलाई कार्यक्रमको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको सो कार्यक्रममा बोल्नुहुँदै चन्द्रागिरि ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले महालक्ष्मी चाैरको उपयोगिताका लागि स्थानीयबासी आवश्यकता र अहिलेको पुस्ताको चाहना अनुरूप कार्ययोजना बनाउनका लागि यसवर्ष केही बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमका दाैरान नगरप्रमुख घनश्याम गिरी तथा वडाध्यक्ष कृष्णप्रसाद खड्गीलाई संयुक्त रूपमा टेकानपुर महालक्ष्मी सांस्कृतिक चौर प्रस्तावना हस्तान्तरण गरिएको थियो ।
टेकानपुरको संस्कृति सम्पदाको संरक्षण एवं प्रवर्धनका लागि स्थानीयबासी तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गर्न टेकानपुर संस्कृति संरक्षण समिति स्थापना गरिएको बताउनु हुँदै सो समितिका अध्यक्ष मोहन बहादुर बलामीले सो क्षेत्रको संरक्षण र प्रवर्धनमा स्थानीय निकायले अग्रसरता दिनुपर्नेमा जोड दिनुभयो ।