दोश्रो एक दिवसियमा पनि नेपाल विजयी

Thankot Times

थानकोट ।

नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यालाई १६ रनले हराउँदै सिरिज एक खेल अगावै जितेको छ । नेपालले तीन एकदिवसिय अभ्यास खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २ सय १३ रनमा अल आउट भयो । केन्याका रकिप पटेलले ९८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३९ औं ओभरको पाँचौं बलमा रकिपलाई बसिर अहमदबाट क्याच गराउँदै नेपाललाई खेलमा फर्काएका थिए ।

सोमपाल कामीले पहिलो बलमै सुखदीप सिंहलाई रोयल डक बोल्ड गरे । सोमपालले नै सातौैं ओभरको अन्तिम बलमा नेल्सनलाई २८ रनमा एलबीडब्लु आउट गरे । उनले २७ बलमा ५ चौका प्रहार गरे । विकेटकिपर इफरान करिमलाई करण केसीले ८ रनमा साहब आलमबाट क्याच गराए ।

सोमपालले नै सचिन भुडियालाई शून्यमा क्याच गराएपछि केन्या ८.२ ओभरमा ३९–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि रकिप र कोलिन्स ओबुयाले ८१ रनको साझेदारी गर्दै नेपाललाई दबाबमा राखेका थिए ।

ओबुया ६१ बलमा ५ चौकासहित ३७ र शेम न्गोचे १२ रनमा आउट भए । अन्तिम विकेटका लागि विरज पटेल र जेरार्ड मुथुईले २७ रनको साझेदारी गर्दै केन्यालाई झिनो आशा देखाएका थिए । दीपेन्द्रले मुथुईलाई २० रनमा बोल्ड गर्दै नेपालको जित पक्का गराए । मुथुईले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपालका सोमपाल कामीले ८ ओभरमा २ मेडनसहित ४० रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५.३ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । करण केसी, आदिल अन्सारी र पवन सरार्फले एक एक विकेट लिए ।

त्यसअघि नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका रोहित पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ रनको इनिङ खेले । पहिलो विकेटका लागि ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए । अर्जुन १६ बलमा ५ रन बनाउँदै आउट भए ।

कप्तान शेम न्गोचेको बलमा ज्ञानेन्द्र मल्ल ३७ बलमा ४ चौकासहित २५ रनमा बोल्ड आउट भए । १९ औं ओभरको अन्तिम बलमा देव खनाल ३७ रनमा क्याच आउट भए । देव स्पिनर विराज पटेलको बलमा कोलिन्स ओबुयाबाट क्याच भएका थिए । देवले ५५ बलमा ४ चौका प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी २, बसिर अहमद १७ र पवन सरार्फ २ रनमा आउट भए । तल्लोक्रमका आदिल अन्सारी १४ र सोमपाल कामी १५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । करण केसी ६ बलमा २ चौकासहित ११ रनमा आउट भए ।

केन्याका कप्तान शेम न्गोचेले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । विरज पटेल १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । तीन एकदिवसिय अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

हाम्रो खेलकुदबाट 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ