पुराना कला निर्देशक उद्धवराज भट्टराईको निधन

Thankot Times

थानकोट । नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक एवं कलाकार उद्धवराज भट्टराईको निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै शनिवार बिहान निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । ६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए । लामो जुंगाका कारण उनी फिल्म क्षेत्रमा ‘जुङ्गे’ उपनामले चर्चित थिए । भट्टराईले एकसेएक सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रूपमा काम गरेका छन् ।

कुनै समय प्रायजसो नेपाली फिल्ममा उनको कला निर्देशन रहन्थ्यो । तर, पछिल्लो समय प्रविधिमा आएको परिवर्तन भएसँगै उनको हातमा कामको भने अभाव थियो । कुशल कलाकारसमेत रहेका भट्टराई ४ दशकदेखि फिल्म क्षेत्रमा सक्रिय थिए । भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन् ।

चलचित्र प्राविधिक संघका अनुसार उनको अन्तिम संस्कारका लागि शनिवार दिउँसो १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा शव राखिने छ । हरिवंश आचार्य, सुनिल थापा, दीपकराज गिरी, मिथिला शर्मालगायत थुप्रै फिल्मकर्मीले भट्टराईको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *