केन्या विरूद्धको एकदिवसीयमा नेपालको सानदार जित, आसिफको शतक
थानकोट ।
अफ्रिकी मुलुक केन्याको राजधानी नैरोबीमा युवा ओपनर आसिफ शेखको शतकमा नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोलीमाथि ७ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ ।
जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले । आसिफ शेखले शेम न्गोचेलाई ४० औं ओभरको चौथो बलमा छक्का हान्दै १ सय १० बलमा शतक प्रहार गरेका थिए ।
आसिफ विशिल पटेलको बलमा अघि बढेर सट खेल्ने धुनमा मिस हुँदै बोल्ड भए । नेपाललाई सानदार जित दिलाउन अर्जुन साउद र आसिफ शेखले पहिलो विकेटका लागि ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए । अर्जुनले शेम न्गोचेलाई छक्का हान्दै ७७ बलमा अर्धशतक पूरा गरेका थिए । अर्जुृन शेमको बलमा मिडअफमा क्याच आउट भएका थिए ।
ज्ञानेन्द्र मल्ल ५० बलमा १ चौकासहित २४ रनमा आउट भए । कप्तान रोहित पौडेल ३ रन र दीपेन्द्रसिंह ऐरी ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे । केन्याका विशिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक एक विकेट लिए ।
त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो । केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए ।
दोस्रो खेल शनिबार हुनेछ । सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । पाँच टि२० आई खेलको सिरिज नेपालले ३–२ ले जितेको थियो ।