प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न रोक, टिकटकमा भुल्ने ४० प्रहरी कारबाहीमा

Thankot Times

थानकोट ।

प्रहरी पोसाक, हतियार तथा हत्कडी देखाएर टिकटक बनाउने ४० प्रहरी कारबाहीमा परेका छन् । यो गत आर्थिक वर्षको तथ्यांक हो । प्रहरी पोसाक लगाएर टिकटक बनाउन तथा अन्य सामाजिक सञ्जालमा फोटो–भिडियो राख्न नपाइने प्रहरी आचारसंहिता छ । कतिपयलाई उजुरीका आधारमा त कतिपयलाई सामाजिक सञ्जालमा नियमन गरेर कारबाही गरिँदै आएको प्रहरी प्रवक्ता राईले बताए । कारबाहीमा पर्नेहरूमा धेरैजसो तल्लो तहका प्रहरी छन् । कतिपयले आचारसंहिता थाहा नभएर त कतिपयले अटेर गरेर टिकटक तथा सामाजिक सञ्जालमा प्रशंसा बटुल्न प्रहरी पोसाक, हतियार तथा हत्कडीसहित फोटो तथा भिडियो बनाउने गरेका छन् ।

प्रहरी आचारसंहिता, २०७७ तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिमा भनिएको छ, ‘प्रहरी कर्मचारीले सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता विषयमा लाइक, कमेन्ट, सेयर, ट्याग, ट्विट, रिट्विटजस्ता क्रियाकलाप गर्न वा गराउन नहुने ।’ त्यस्तै, नेपाल प्रहरीको सञ्चारमाध्यमसम्बन्धी नीति, २०६० एवं सामाजिक सञ्जाल व्यवस्थित तवरले प्रयोग गर्नेसम्बन्धी गाइड लाइन, २०७१ मा पनि यससम्बन्धी व्यवस्था छ ।

आचारसंहिता उल्लंघनमा धेरैलाई प्रहरीले सचेत गराउने गरेको छ । तर, दुईपटक आचारसंहिता उल्लंघन गर्नेलाई नसिहतसहित कारबाहीसमेत हुने गरेको छ । सामाजिक सञ्जाल नियमनका लागि प्रहरी महानिरीक्षकको कार्यालयका डिएसपीको नेतृत्वमा एक शाखा नै बनेको छ, नयाँ पत्रिकामा खबर छ । जसले प्रहरीविरुद्ध आउने उजुरीदेखि सामाजिक सञ्जालमा प्रहरीका गतिविधि नियमन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *