चन्द्रागिरि नगरमा बजार अनुगमन तीव्र, ढक तराजु दर्ता गर्नुपर्ने विषयमा व्यवसायी अनविज्ञ

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले बजार अनुगमनलाई जारी राखेको छ।
नगर उपप्रमुख बसन्ती श्रेष्ठको संयोजकत्वमा नगरका विभिन्न क्षेत्रमा रहेका मासु पसल, दुग्ध जन्य पदार्थका बिक्री केन्द्र, खाद्य सामाग्री बिक्री हुने पसलहरूको अनुगमनमा नगरपालिकाले विशेष चासो राखेको छ ।
उपप्रमुख बसन्ती श्रेष्ठले बजार अनुगमनका क्रममा मासुजन्य पदार्थ बिक्री हुने पसलहरूमा सुधार गर्नुपर्ने पक्ष धेरै भेटिएको बताउनुभयो । गत महिना अनुगमन गरिएका मासुजन्य पदार्थ बिक्री हुने पसलहरूमा दिइएको सुझावहरू अक्षरस पालना भएको पायाैं नगर उपप्रमुख बसन्ती श्रेष्ठले भन्नुभयो ।
बजार अनुगमनका क्रममा उपभोग्य अवधि गुज्रिएका खाद्य पदार्थहरूको ठाउँको ठाउँ नष्ट गरिएको जानकारी दिनुहुँदै नगर उपप्रमुख श्रेष्ठले हालसम्म अनुगमन भएका क्षेत्रहरूमा तेल, मासु, प्लाष्टिकले बेरिएका खाद्यपदार्थहरूमा उपभोग्य मिति गुज्रिएको फेला परेको जानकारी थानकोट टाइम्सलाई दिनुभयो ।
नगरको बजार अनुगमन टोलीमा चन्द्रागिरि नगरपालिकाका विभिन्न विषयगत समितिका संयोजक, सदस्यहरू, कर्मचारीहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्माचारीहरू लगायत छन् ।
बजार अनुगमनका क्रममा नाप ताैल गर्ने ढक तराजुको गुणस्तर जाँच गर्नुपर्ने विषयमा व्यवसायीहरू अनविज्ञ भएको पाइएको बजार अनुगमनमा खटिएका एक जनप्रतिनिधिले बताए ।