चन्द्रागिरि नगरक्षेत्रमा सेवारत बैंकहरूसँग चन्द्रागिरि नगरपालिकाको संयुक्त बैठक सम्पन्न
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका बैंकका प्रतिनिधिहरूसँग चन्द्रागिरि नगरका नगरप्रमुख तथा उपप्रमुखसहितको टोलीको संयुक्त बैठक सम्पन्न भएको छ ।
शुक्रबार नगरप्रमुख घनश्याम गिरीको कार्यकक्षमा सम्पन्न बैठकमा चन्द्रागिरि नगर क्षेत्रमा सञ्चालनमा रहेका वाणिज्य बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरू, नगरका विभिन्न विषयगत समितिका संयोजकहरू, विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ ।
सो क्रममा नगरपालिका र नगरपालिका भित्र रहेका विभिन्न बैंकहरु बीच हुनसक्ने विभिन्न सहकार्यका बारेमा छलफल भएको बताइएको छ । उक्त बैठकमा लक्षित वर्गलाई उपलब्ध गरिने सहुलियतपूर्ण कर्जा, ब्याज अनुदान, नगरबासीद्वारा उत्पादित सामाग्रीको बजारीकरणमा सहकार्य, सुरक्षा व्यवस्थापनको लागि विभिन्न स्थानमा सीसी क्यामेरा जडान तथा नगरपालिकाको अन्य क्षेत्रमा पनि हुन सक्ने सामाजिक दायित्व अन्तर्गत सहकार्यको बारेमा छलफल भएको थियो।
बैठकमा चन्द्रागिरि नगरबासीहरूका लागि स्वरोजगार तथा नगरबासीद्वारा उत्पादित सामाग्रीको बजारीकरणको लागि सहुलियतपूर्ण कर्जा, ब्याज अनुदान तथा बजार व्यवस्थापन लगायतका विषयमा नगर क्षेत्रमा क्रियाशिल बैंकका प्रतिनिधिहरुले नगरपालिकालाई साथ र सहयोग सहित सहकार्य हुने कुरामा प्रतिबद्धता जाहेर गरेको वडा नंं ८ का वडाध्यक्ष एवं नगरको आर्थिक विकास समिति संयोजक प्रल्हाद रिजाल जानकारी दिनुभयो ।
चन्द्रागिरि नगर क्षेत्रमा सेवारत बैंकहरूका प्रतिनिधिहरूसँगको छलफलपछि नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले नगर क्षेत्रभित्र क्रियाशिल संघसंस्थाहरूसँग निरन्तर भेटघाट र द्वीपक्षीय हितका विषयमा हातेमालो गर्दै अघि बढ्ने नीति लिएको बताउनु हुँदै नगर क्षेत्रभित्र सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संचालकहरूसँग पनि छिट्टै संयुक्त बैठक बस्ने जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकामा करिब १ दर्जन वाणिज्य बैंकका बीस भन्दा धेरै शाखा तथा एक्टेन्सन काउण्टरहरू सञ्चालनमा रहेको बताइएको छ ।