चन्द्रागिरि नगरको मेयर पदका अधिकांश दलगत उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्
थानकोट ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकिएको छ ।
आयोगको भदौ ३१ गते बसेको बैठकले खर्चको विवरण पेस नगर्ने एक लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई २४ अर्ब ६४ करोड ६ लाख रूपैयाँ जरिवाना तोकेको हो ।
वैशाख ३० को चुनावबाट जितेका जनप्रतिनिधिले आफूमाथि तोकएको जरिवाना आश्चर्य र अस्वाभाविक भएको टिप्पणी गरेका छन् । हारेकाहरू भने मौन देखिएका छन् । ६ महिनाभित्र जरिवाना नतिरे जनप्रतिनिधिको पद जाने चेतावनी आयोगले दिइसकेको छ ।
जसमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारलाई साढे ७ लाख जरिवाना तोकिएको छ ।
उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारलाई साढे ५ लाख जरिवाना तोकिएको छ । त्यस्तै, नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जितेका र हारेका उम्मेदवारलाई ४ लाख जरिवाना भराइने आयोगले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षमा विजयी र पराजित उम्मेदवारलाई साढे ३ लाखका जरिवाना तोकिएको छ ।
महानगरपालिकाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यमा निर्वाचित तथा पराजित उम्मेदवारलाई ३ लाख रूपैयाँ जरिवाना तोकिएको छ ।
उपमहानगरपालिकाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यमा निर्वाचित तथा पराजित उम्मेदवारलाई साढे २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
नगरपालिकाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यमा निर्वाचित तथा पराजित उम्मेदवारलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यमा निर्वाचित तथा पराजित उम्मेदवारलाई डेढ लाखका दरले जरिवाना तोकिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी खर्च विवरण पेश नगर्ने उम्मेदवारहरूको सूचीमा चन्द्रागिरि नगरका नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम प्रकाशित गरेको छ ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा चन्द्रागिरि नगरको मेयर पदका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका थिए जसमध्ये २ जनाले मात्रै चुनावी खर्च विवरण निर्वाचन आयोग बुझाएका छन् जसमा नेमकिपाका मेयर पदका उम्मेदवार किरण महर्जन र स्वतन्त्र उम्मेदवार उत्तम कार्की छन् ।
यी हुन चन्द्रागिरि नगरको दोश्रो मेयर बन्न मतदाताका घरघरमा पुगिरहेका उम्मेदवारहरू
आयोगले सार्वजनिक गरेको चुनावी खर्च विवरण पेश नगर्ने उम्मेदवारहरूको सूचीको पृष्ठ ५८ मा उल्लेख भए अनुसार चन्द्रागिरि नगरको मेयर पदमा उम्मेदवारी दिएका १६ जना उम्मेदवारले चुनावी खर्च पेश नगरेको बताइएको छ । जसमा नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख घनश्याम गिरी, उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उत्तम बहादुर राउत लगायत छन् ।
स्थानीय तह निर्वाचन चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले गरेको प्रकाशित अन्तिम मत परिणाममा नाम नभएका तर मेयर पदमा उम्मेदवारी दिएका तीन जनाको नाम समेत चुनावी खर्च पेश नगर्नेको सूचीमा उल्लेख भएको छ ।
६ महिनाभित्र जरिवाना नतिरे जनप्रतिनिधिको पद जाने चेतावनी आयोगले दिइसकेको छ । चुनावी खर्च विवरण पेश नगर्ने नगरपालिकाका मेयर पदका विजयी तथा पराजित उम्मेदवारबाट जनही ४ लाख रूपैयाँ जरिवाना भराइने आयोगले जनाएको छ । पराजित उम्मेदवारहरूले ६ वर्षसम्म कुनैपनि निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन्।
त्यस्तै, आयोगले सार्वजनिक गरेको चुनावी खर्च विवरण पेश नगर्ने उम्मेदवारहरूको सूचीको पृष्ठ ५८ मा उल्लेख भए अनुसार चन्द्रागिरि नगरको उपमेयरका लागि उम्मेदवारी दिएका ८ जनामध्ये ६ जनाले चुनावी खर्च विवरण पेश नगरेको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनः चन्द्रागिरि नगरको उपमेयरमा कसले मार्ला बाजी ?
जसमा नेकपा एमालेबाट निर्वाचित नगर उपप्रमुख बसन्ती श्रेष्ठ, उनका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका रोशन दानी लगायत छन् ।
चुनावी खर्च विवरण पेश गर्ने चन्द्रागिरि नगरका उपमेयरका उम्मेदवाहरूमा नेमकिपाका ज्ञानुमाया दराईं तथा स्वतन्त्र उम्मेदवार कृष्ण मानन्धर छन् । उपमेयरका उम्मेदवारहरूले ६ महिना भित्र जरिवाना नतिरे निर्वाचित जनप्रतिनिधिको पद जाने चेतावनी आयोगले दिइसकेको छ भने पराजित उम्मेदवारहरूले ६ वर्षसम्म कुनैपनि निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन्।
यो पनि पढ्नुहोस्ः
चन्द्रागिरि नगरमा मेयर पदका १८ उम्मेदवारहरूको धराैटी जफत, कसले कति मत पाए ?