प्रथम मातातीर्थ गोल्डकपः ग्रीन हिल्सको विजयी सुरूवात, ल्याक्टो युवा क्लब २-१ ले स्तब्ध

थानकोट ।
सोमबारबाट सुरू भएको प्रथम मातातीर्थ गोल्डकपमा ग्रीन हिल्स युवा क्लबले विजयी सुरूवात गरेको छ ।
पहिलो हाफमा १-० को अग्रता लिएको ल्याक्टो युवा क्लबविरूद्ध उत्कृष्ठ पुनरागमन गर्दै ग्रीन हिल्सले २-१ को समिकरण बनाउँदै अघिल्लो चरणका लागि सिट सुरक्षित गर्यो ।
भारी वर्षाले प्रभावित दोश्रो हाफमा ग्रीन हिल्सका समिर गुरूङ र सुदिप भुजेलले गोल गरेका थिए । ल्याक्टो युवा क्लबका राजु राईले खेलको साताैं मिनेटमा गोल गर्न सफल भएका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्नुहुँदै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले नगरमा सञ्चालन भइरहेका र हुने सम्पूर्ण खेल गतिविधिहरूका लागि नगरपालिका प्राथमिकताका साथ हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख बसन्ती श्रेष्ठले नगरमा महिला फुटलब गतिविधि शुन्यको अवस्था रहेकोले सो तर्फ ध्यान दिन जरूरी रहेको बताउनुभयो ।
पहिलो पटक वडामा आयोजना भएको मातातीर्थ गोल्डकपको उद्घाटन समारोहमा बोल्नुहुँदै चन्द्रागिरि ६ का वडाध्यक्ष संजय सिग्देलले प्रतियोगिता स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान गर्न कोशेढुंगा हुन सक्ने धारणा राख्नुभयो ।
२४ टोलीको सहभागिता रहेको प्रतियोगितामा मंगलबार तीन खेल हुनेछन् । जसअनुसार दिनको पहिलो खेल बिहान १० बजे कुर्डन युवा क्लब र नव कंकाली युवा क्लबबीच हुनेछ । किसिपिडी युवा क्लब र ओसिस युवा क्बल बीच दिउँसो १ बजे खेल हुनेछ भने चुनदेवी युवा क्लब र तीनथाना युवा क्लब बीच दिनको ३ बजे खेल हुनेछ ।