माओवादीले समानुपातिक सांसदलाई नदोहोर्‍याउने

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा यसअघि समानुपातिक सांसद भएकाहरूलाई नदोहोर्‍याउने भएको छ।

बुधबार पेरिस डाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले स्थानीय तहमा उम्मेदवार बनेकालाई समेत प्राथमिकता नदिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।

‘समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची तयार गर्न पार्टी प्रदेशहरूले भदौ ३० गतेभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्ट-लिस्ट पेस गर्ने र समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरू समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘भर्खरै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकालाई प्राथमिकता नदिने र सूची पेस गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेकै हुनपर्ने निर्णय गरेको छ।’

बैठकले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल गरेको थियो।

समानुपातिक प्रतिनिधित्व सूची पेस गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठक बसी क्षेत्र बाँडफाँट टुंगो लगाउने समझदारी बनेको समेत माओवादीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *