साफ यू-१७ च्याम्पियनसिपको उपाधी भारतलाई, नेपाल ४-० ले पराजित
थानकोट ।
श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपको उपाधी भारतले जितेको छ । भारतले नेपाललाई ४-० ले पराजित गर्दै सो उपाधी जितेको हो ।
नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेको थियो ।
समुह चरणमा नेपालले भारतलाई ३–१ ले हराएको थियो ।
भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।
खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।