मंसिर ४ गतेको चुनावमा खटिने म्यादी प्रहरीले तलब, रासनबापत पाउनेछन् करिब ४२ हजार रूपैयाँ
थानकोट ।
आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।
सो सहमतिसँगै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना गर्नेबारे कार्यविधि तयार गरिरहेको छ ।
सो निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । सो अवधिमा उनीहरुले तलब र रासनबापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् । म्यादीलाई प्रहरी जवान बराबर रासन र तलब सुविधा उपलब्ध गराइने प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।
म्यादी प्रहरीले गाडी भाडाबापत १ हजार रुपैयाँ भत्ता स्वरुप पाउँछन् । निर्वाचन क्षेत्रमा आउन र जाने खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ, रातोपाटी अनलाइनमा खबर छ । तलब बापत म्यादी प्रहरीले ४० दिनमा ३४ हजार ७६० रुपैयाँ पाउँछन् । हिमाली जिल्लामा रासन सुविधा त्यहिँको दररेट अनुसार पाउनेछन् । रासनबापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएको डीआईजी राईले जानकारी दिए ।
कपडा किन्न म्यादी प्रहरीले ६ हजार रुपैयाँ पाउँछन् । म्यादीले ६ हजार भित्रबाट दुई जोर डांग्री, जुत्ता, दुई जोर मोजा, टोपी र सिट्टी कर्ड किन्नुपर्छ । हिमाली क्षेत्रमा भर्ति हुने म्यादीले स्वीटर खरिद गर्न थप १ हजार नगद पाउँछन् । हिमालमा १५ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
निर्वाचन अवधिमा ४ दिन खाजा खर्च स्वरुप म्यादीले ३ सयको दरले थप रकम पाउँनेछन् । निर्वाचन सुरक्षामा खटिँदा आवश्यक लाठी म्यादी आफैंले व्यवस्थापन गर्नुपर्ने गरी प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाइरहेको छ ।