उच्च शिक्षा अध्ययन गर्न चाहनेहरूका लागि चन्द्रागिरि सहकारीले छात्रवृत्ति उपलब्ध गराउने

Thankot Times

थानकोट ।

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि चन्द्रागिरि नगरपालिका-०७ थानकोट महादेवस्थानमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण  सहकारी संस्था लिमिटेडले छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

सोमबार सहकारीले जारी गरेको सूचनामा जनाइए अनुसार आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सहकारीले  “चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोष” स्थापना गरेको छ ।

हाललाई चन्द्रागिरि नगर क्षेत्रभित्रका सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत कक्षा ११ र १२ विद्यार्थीहरू सम्मिलित हुन पाउने  यस छात्रवृत्ति कार्यक्रमका लागि आवेदन भदाै २७ सम्म आवेदन पेश गर्नुपर्ने बताइएको छ । आगामी वर्षदेखि भने स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत तथा संस्थाको कार्यक्षेत्र भित्रका विद्यार्थीहरूले यस कार्यक्रममा सहभागिता जनाउन पाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस कार्यक्रममा सहभागिताका लागि आवेदक विद्यार्थीले आफु अध्ययनरत विद्यालय वा क्याम्पसबाट र आफु बसोबास गरिरहेको स्थानीय तहको वडाबाट आर्थिक रुपले विपन्न र जेहेन्दार रहेको व्यहोरा खुलाई छात्रवृत्तिको सिफारिस संलग्न गर्नु पर्नेछ । यस्तै, आवेदनको साथ नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साईजको १ प्रति फोटो र पछिल्लो शैक्षिक योग्यताका प्रमाण पत्रहरुको छायाँप्रति संलग्न गर्नुपर्ने बताइएको छ।

अधिकतम बीस हजार रूपैयाँ छात्रवृत्ति रकम उपलब्ध गराइने यस कार्यक्रमबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको आगामी परीक्षाको नतिजा सन्तोषजनक नभएमा, झुठो विवरण पेश भएको पाईएमा र अन्य कृयाकलापहरु समेत सन्तोषजनक नभएको पाइएमा कुनै पनि समयमा प्रदान गर्दै आईरहेको छात्रवृत्ति पुनरावलोकन गरी आवश्यक निर्णय लिन सकिनेछ संस्थाले जानकारी दिएको छ ।

१५ हजार ४ सय ५४ जना सदस्य रहेका चन्द्रागिरि सहकारीका चन्द्रागिरि १ दहचोक तथा ललितपुर खुमलटारमा सदस्य सेवा केन्द्रहरू रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *