बाटोमा माटो फाल्दा गाडी फसेको निहुँमा वडाध्यक्षले ३ जना गाँउलेलाई कुटे
थानकोट ।
छिमेकी जिल्ला मकवानपुरको कैलाश गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर गोम्बामाथि ३ जनालाई कुटेको आरोप लागेको छ । गैरीगाउँ-गोगने-पकनी-बैकुण्ठ सडकमा माटो फालेको भन्दै वडा नम्बर ५ का ३ जनालाई कुटेका गाउँलेले बताएका छन् ।
वडा नम्बर -५ का बासिन्दा कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउने क्रममा आलो माटोमा बिहीबार गाडी फसेका थिए । यहि विषयलाई लिएर उनले ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
वडाध्यक्ष गोम्बाले बाबुछोरालाई हातपात गरेको देखेर छुटाउन गएका नितन विष्टलाई पनि उनले कुटेका छन् । विष्ट भन्छन्, ‘ढकाल दाइका बाउछोरा माथिनै हातपात गरेको देखेर म छुटाउन गएँ । जनप्रतिनिधि भएर तपाईंले यसो गर्न मिल्दैन भन्दा उनले मलाई पनि लात्तैलात्ता हाने ।’ आफूहरुले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिन लागेको बताए ।
वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको विषयमा विवाद भएको र धकेला धकेल भएको तर आफूले हातपात नगरेको बताएका छन् । आफ्नो वडातर्फ जाने गाडीहरु हिलो माटोमा फसेर रोकिएपछि स्थानीयबासिन्दाको आग्रहमा आफू त्यहाँ हेर्न गएको उनले बताए । उनले भने, ‘सार्वजनिक बाटोमा किन माटो हालेको भन्दा स्थानीयहरुले मलाई अभद्र व्यवहार गर्नुभयो ।’ यस विषयमा आफूले पनि कानूनी उपचार खोज्ने वडाध्यक्ष गोम्बाले बताए ।