नेपालमा दैनिक २५ किलोग्रामसम्म बिक्री
थानकोट ।
नेपालमा चाडवाड नजिकिएसँगै सुन बिक्रीको सिजन सुरू भएको छ ।
जेठ, असार र साउनमा दैनिक बिक्री न्यून रहेको सुनको कारोबार भदौ लागेसँगै उकालो लाग्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाडबाड नजिकिएसँगै भदौदेखि सुनको माग बढ्न थालेको छ ।
महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भदौ महिना लागेसँगै सुनको माग बढ्न थालेको बताए । उनले अहिले दैनिक २५ किलोग्रामसम्म सुनको बिक्री हुन थालेको बताए । ‘यसअघि, दैनिक १० किलोग्राम हाराहारी बिक्री भइरहेको थियो,’ शाक्यले भने, ‘भदौ लागेसँगै चाडबाड पनि नजिकिन थालेको छ । यही कारण सुनको माग बढ्न थालेको छ ।’
सुन व्यवसायीहरू हरितालिका तीज सुनको कारोबार सिजन सुरू हुने समय मान्छन् । खासगरी, वैशाख महिनासम्म बिहेको समय भएकाले उक्त महिनासम्म दैनिक २०–२५ किलोग्रामसम्म सुन बिक्री हुन्छ । जसले बजारमा एक प्रकारको चहलपहल गराइरहन्छ । जेठ, असार र साउनमा विवाह नपर्ने भएकाले कारोबार ठप्प प्रायः हुन्छ ।