सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा चन्द्रागिरि नगर बस्ने एक सहित दुई जना पक्राउ
थानकोट ।
सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै एक लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
नुवाकोट सूर्यगढी गाउँपालिका-४ घर भई कीर्तिपुर नगरपालिका-८ पाँगास्थित डेरामा बस्दै आएका ५६ वर्षीय अरूण गुरूङ र गोरखा भिमेश्वर गाउँपालिका-९ भोर्लाङ घर भई चन्द्रागिरि नगरपालिका पूरानो नैकाप बस्ने ३७ वर्षीय महेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने भन्दै उनीहरूले सुरेश महर्जन भन्ने व्यक्तिसँग तीन लाख रुपैयाँ मागेका थिए। उनीहरूले तीन लाख रुपैयाँ माग गरेकोमा एक लाख रुपैयाँ भने दिन महर्जन सहमत भए।
उनले एक लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए। त्यसरी ठगी गरेको भन्दै महर्जनले गत आइतबार प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए।
अनुसन्धान गरी यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कीर्तिपुर नगरपालिका-३ खसिबजारमा फेला पारी प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले अरूण गुरूङबाट ७५ हजार र महेश भट्टको साथबाछ २५ हजार गरी जम्मा एक लाख रुपैयाँ बरामद समेत गरेको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२१ देहाय २४९ ठगी गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न म्याद थप अनुमति लिएको छ।
प्रहरी उपरीक्षक मैनालीले कुनै पनि व्यक्तिले अनुसन्धान गरिरहेको मुद्दालाई मिलाइदिने, थुनामुक्त गर्ने जस्ता प्रलोभनमा पार्ने घटनाहरू यसअघि पनि हुने गरेका थिए। यसरी विश्वास दिलाएर ठगी गर्न सक्ने भन्दै झुक्यानमा नपर्न अनुरोध गरेका छन्।
‘कोहि पनि त्यस्ता प्रकारका झुक्यानमा नपर्न हुन परिसर सम्पूर्णमा हार्दिक अनुरोध गर्दछ,’ उनले भने, ‘साथै कोहि कसैले प्रहरी संगठनको नाममा रकम उठाउने खाने गरेको पाइएमा प्रचलित ऐन कानून बमोजिम हदैसम्मको कारबाही गरिने जानकारी गराइन्छ।’